Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेकपाका २० जनाको छुट्टै स्थायी समिति बैठक

काठमाडौँ — पूर्वनिर्धारित स्थायी कमिटी बैठक अनिश्चतकालका लागि स्थगित भएपछि नेकपाका २० स्थायी समिति सदस्यहरुको छुट्टै बैठक वसेको छ । स्थायी समितिको बैठक राख्न माग गर्दै हस्ताक्षर गरेका २० जना स्थायी कमिटी सदस्यहरुले पार्टी कार्यालय धुम्वाराहीमा छुट्टै भेला आयोजना गरेका हुन् । भेलामा आगामी रणनीतिबारे छलफल भएको थियो ।

सचिवालयले स्थायी कमिटी बैठकका एजेण्डा र प्रस्ताव तय गर्न नसकेको अवस्थामा बैठकका एजेण्डा तय गर्न सचिवालयलाई सहयोग गर्ने र तत्काल बैठक बोलाउन दवाव दिनेगरी छलफल भएको स्थायी कमिटी सदस्य हलिवोल गजुरेलले जानकारी दिए । असन्तुष्ट स्थायी समिति सदस्यहरुको मंगलबार दिउँसो पनि ललितपुरको एक रेष्टुरेष्टमा बैठक बसेको थियो ।

पार्टीको विधान, पद्धति र प्रक्रिया तथा निर्णय एवं प्रतिबद्धता विपरीतका क्रियाकलाप भएकाले त्यसलाई सच्याउनुपर्ने उनीहरुको अडान छ । बैठकमा सहभागी नेताहरुले सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको, मन्त्रीहरु नै विभिन्न भ्रष्टाचारमा संलग्न भएको, प्रधानमन्त्रीले यस्ता विषयमा कठोरतापूर्वक छानबिन नगरेको, पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको, सांसद अपहरण जस्तो मुद्दालाई नजरअन्दाज गरेको, कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेपाल सरकार तथा अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको प्रावधानमा संशोधनका लागि अर्थमन्त्रीले एमसीसीसँग गोप्यरुपमा पत्राचार गरी संसदकै विशेषाधिकारको हनन गरेको ठहर उनीहरुले गरेका छन् । अधिकांश राजनीतिक नियुक्तिहरु तथा अवसरको वितरण सामाजिक न्याय, देश, जनता र पार्टीको हितभन्दा गुट, सत्ता र शक्तिको लागि गरेको एक स्थायी समिति सदस्यले बताए ।

पत्र लेख्ने र भेला गर्ने २० स्थायी कमिटी सदस्यहरुमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण बिष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणी पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोल गजुरेल छन् ।

बुधवार बसको सचिवालय बैठकमा स्थायी कमिटी पेस गर्ने एजेन्डा र प्रतिवेदनवारे विवाद भएपछि बैठक अनिश्तकालका लागि रोकिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई अध्यक्षबीच छलफल भएर केही दिनमै स्थायी कमिटी बैठक बस्ने बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update