चरिकोट । यो वर्षको बिष्णु लक्ष्मी–तुलसीमाया साहित्यिक पुरस्कार साहित्यकार रविन्द्र तामाङलाई प्रदान गरिएको छ । दोलखा सदरमुकाम चरिकोटमा आईतबार बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आयोजना गरेको समितिको एघारौं बार्षिक साधारणसभाको अबसरमा तामाङलाई उक्त साहित्यिक पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं बाग्मती प्रदेशसभा सांसद भरत केसी लगायतले तामाङलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । समितिले हरेक बर्ष माघ १ गतेका दिन साहित्यिक क्षेत्रमा कलम चलाउने साहित्यकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
दोलखाका अग्रज पत्रकार चिरञ्जीवी मास्केले आफ्नो कर्मदिने आमा बिष्णुलक्ष्मी श्रेष्ठ र जन्मदिने आमा तुलसिमाया मास्केको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
सोही अबसरमा बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले हरेक बर्ष प्रकाशन गर्दै आएको प्रदेय पुस्तकपनि सार्बजनिक गरिएको छ । यो पटक प्रकाशित पुस्तकमा साहित्यका बिभिन्न बिधामा लेखिएका ३८ वटा लेख रचना संग्रहित छन् ।
बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका अध्यक्ष बिष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले जिल्लामा साहित्यिक गतिबिधि सुस्ताउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सांसद भरत केसीले साहित्यिक क्षेत्रलाई थप प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा भीमेश्वर नगरप्रमुख ईश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिका प्रमुख हिरा थोकर, उपप्रमुख गायत्री आचार्य, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, साहित्यकार शंकरलाल श्रेष्ठ, पत्रकार महांघका केन्द्र सदस्य रमेश खतिवडा, जिल्ला अध्यक्ष दिपशंकर चौलागाई लगायतले जिल्लामा साहित्यिक गतिविधि बढाउन सबै पक्षले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष जीवन लामा, बिनिता शिवाकोटी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।