दोलखा । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको ११ औँ साधारण सभा शनिवार सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा सम्पन्न साधरणसभाको अबसरमा स्वास्थ्यकर्मीलाई सम्मान गरिनुका साथै पत्रकारिता कोष स्थापनाको घोषणा गरियो ।
कार्यक्रममा पशुपति चौलागाईँ स्मृति अस्पतालका दुई जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो । कोरोना महामारीमा अहोरात्र खटेर सहयोग पुर्याएको भन्दै महासंघले स्वास्थ्यकर्मी प्रतिमा भट्टराई र उर्मिला चौलागाईँलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।
यसैगरी साधारणसभाको अबसरमा पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाईँले आफ्ना स्वर्गीय सु-पुत्रको नाममा सुप्रिम स्पन्दन स्मृति पत्रकारिता कोष स्थापना गर्ने घोषणा गरेका छन् । अध्यक्ष चौलागाईँले आफ्नो दिवंगत छोराको नाममा ५० हजार राशीको पत्रकारिता कोषको घोषणा गरेका हुन् । स्पन्दनको १८ वर्षको अल्पायुमै गत मंसिर १३ गते निधन भएको थियो ।
कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले प्रेस क्षेत्र आफ्नो दायित्वबाट बिचलित हुन नहुनेमा जोड दिए । साधारणसभाको उद्घाटनपछि आफ्नो मन्तव्यको क्रममा प्रतिनिधिसभाका सांसद गंगा कार्की बिश्वले सत्यतथ्यमा आधारित पत्रकारिता आजको आवश्यकता भएकोमा जोड दिए ।
पत्रकारिता राज्यको ऐना हो, सत्यतथ्य र निश्पक्ष पत्रकारिता हुनुपर्छ, उनले भने । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराज घतानी, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी, दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, प्रेस काउन्सिलका सदस्य चिरञ्जीवि मास्के, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का, पत्रकार महासंघ बागमती प्रदेश समिति सदस्य श्याम खतिवडा, बार एसोसिएसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईँ, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतले मन्तव्य व्यक्त गरे ।
मन्तव्य राख्ने क्रममा उनीहरुले पत्रकारिता क्षेत्रलाई थप स्वच्छ बनाउनुपर्ने आवश्यकता औल्याए ।