चरिकोट । दोलखा जिल्लामा संचालित १० वटा क्रसर उद्योगहरु बन्द गराईने भएको छ । नदीजन्य पदार्थ उत्खनन्, बिक्री वितरण तथा व्यवस्थापन अनुगमन समितिको अनुगमनपछि जिल्लाका बिभिन्न १० वटा क्रसर उद्योगहरु बन्द गराउने निर्णय भएको हो । औद्योगिक व्यवसाय ऐन अनुसार दर्ता र नविकरण भएको भएको नपाईएकाले उक्त क्रसर उद्योगहरु बन्द गराउने निर्णय भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले जानकारी दिए ।
बन्द गराउने निर्णय भएका क्रसर उद्योगहरुमा भीमेश्वर नगरपालिका ५ स्थिथत भीमेश्वर गिट्टी वालुवा वासिङ उद्योग, भीमेश्वर ५ स्थित मलेपु रोडा ढुंगा उद्योग प्रालि, तामाकोसी गाउँपालिका १ स्थित दोलखा जलदेवी क्रसर उद्योग एण्ड सप्लायर्स प्रालि, सोही स्थानको तामाकोशी रोडा ढुंगा उद्योग एण्ड सप्लायर्स प्रालि रहेका छन् ।
यसैगरी तामाकोशी गाउँपालिका ३ स्थित दोलखा श्रीएकता रोडा ढुंगा उद्योग प्रालि, एसके रोडा ढुंगा उद्योग, कालिञ्चोक गाउँपालिका १ को साङ्वाखोला क्रसर उद्योग, कालिञ्चोक गाउँपालिका ४ स्थित मिलिजुली क्रसर उद्योग, भीमेश्वर क्रसर ईन्डष्टिज र कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ स्थित गुमुखोला क्रसर उद्योग पनि बन्द गराउने निर्णय भएको छ
यद्यपी नियमानुसार दर्ता तथा नविकरण भएको भए प्रमाण वा कागजातसहित ७ दिन भित्र पेश गर्न व्यवसायीलाई जिससले सूचनामार्फत आग्रह गरेको छ ।