Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जनयुद्धका शहीदलाई पक्राउ गर्न प्रहरी पुगेपछि..!

चरिकोट । दोलखा प्रहरीको एक टोली जनयुद्धका शहिदलाई पक्राउ गर्न भन्दै उसको घर पुगेको छ । जनयुद्धका क्रममा ज्यान गुमाएका बैतेश्वर गाउँपालिका वडा नम्बर ७ का केशवराज रिमाल हेमन्तलाई पक्राउ गर्न प्रहरी परिचालित भएको हो । रिमाललाई पक्राउ गर्न भन्दै प्रहरीको एक टोली सोमवार दिउँसो उनको घर पुगेपछि स्थानीय आश्चर्यमा परेका छन् । 

परिवारका सदस्यले केशवराज नरहेको बताएपछि प्रहरी टोली फर्किएको थियो । जनयुद्धको क्रममा रिमालले २०५७ सालमै ओखलढुंगामा भएको एक घटनामा ज्यान गुमाएका थिए । उनको मृत्यु भएको २२ वर्षपछि उनमाथि तत्कालिन समयमा लागेको मुद्धा देखाउँदै प्रहरी पक्राउ गर्न पुगेको हो । 

युद्धकालिन मुद्धाको विषयलाई लिएर शहीद भैसकेको व्यक्तिलाई पक्राउ गर्न प्रहरी परिचालन गर्नु राज्यको बहुलठ्ठी र पागलपन भएको केशवराजका भाई रेशमराज रिमाल ‘नविन’ले बताए । ‘२०५७ सालमै हत्या गरिएका शहीदलाई पक्राउ गर्न प्रहरी घर पुगेको छ, उनले भने ‘यो राज्यको बहुलठ्ठी र पागलपन हो ।’ 

उनका अनुसार समाएर हाजिर गराउनु भन्ने अदालतको आदेश छ, भन्दै प्रहरी रिमालको घर पुगेको थियो । २०५७ सालमा ज्यान गुमाएका रिमाल बिरुद्ध २०६३ साल जेठ २८ मा बिष्फोटक पदार्थको ओसारपसारको जाहेरी परेको थियो । 
प्रहरी स्रोतका अनुसार सोही मुद्धा कार्यान्वयनका लागि प्रहरी रिमाललाई खोज्दै उनको घर पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयले भने यस विषयमा अनभिज्ञता जनाएको छ । मृत्युको सूचना थाहा नभएर हो या अन्य कारण प्रहरी परिचालित भयो खुल्न बाँकी छ । 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update