Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिताकोथान–जुँगु–झ्याँकु–भोर्ले सडकको स्तरोन्नती हुने, ९२ करोडको वोलपत्र आव्हान

चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिका अन्तर्गत जुँगु–सिताकोथान, झ्याँकु, भोर्ले सडकको स्तरोन्नती सुरु हुने भएको छ । सिताकोथान जुँगु, झ्याँकु, भोर्ले हुँदै गाउँपालिका जोड्ने ४५ किलोमिटर सडक स्तरोन्नती हुने भएको हो ।

उक्त सडक स्तरोन्नतीका लागि वाग्मती प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले आज वोलपत्र समेत आव्हान गरेको छ । सडक स्तरोन्नतीका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष ९२ करोड रुपैयाँ छुट्याएको छ । वोलपत्र आव्हानसँगै सडक स्तरोन्नती हुने निश्चित भएको छ ।

वाग्मती प्रदेशसभामा दोलखा १ नम्बर क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद विशाल खड्काले निर्वाचन प्रचारका बेला आफु निर्वाचित भए उक्त सडक स्तरोन्नती गर्ने प्रतिवद्धता जनाएका थिए । यो सडकलाई प्रदेश सरकारकै सबैभन्दा ठुलो योजनामा पारिएको र निर्वाचनका बेला जनाएको प्रतिवद्धता पुरा भएको सांसद खड्काले बताए ।

पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका अनुसार सिताकोथान जुँगु, झ्याँकु सडकमा यही आर्थिक वर्षदेखि ग्राभेल, सोलिङ लगायत स्तरोन्नतीको काम हुनेछ । सडकले गौरीशंकर गाउँपालिकाको अधिकांश वडालाई मुख्य लोकमार्गसँग जोड्ने भएकाले नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रत्येक स्थानीय तहको केन्द्रसम्म कालोपत्रे गर्ने प्रदेश सरकारको नीति बमोजिम सडक पुर्वाधार स्तरोन्नती कार्य अघि बढाईएको हो । उक्त सडकको स्तरोन्नती २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update