Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेश सरकारले कृषकलाई निर्ब्याजी ऋण दिँदै

हेटौंडा । वाग्मती प्रदेश सरकारले कृषकहरुलाई निर्ब्याजी ऋण दिने कार्यक्रम ल्याएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि, पशुपालन, मत्स्यपालन व्यबसाय प्रबद्र्धन गर्ने उदेश्यले बिउपूँजी कोष परिचालन कार्यक्रम ल्याएको हो । उक्त कार्यक्रम कार्यान्वयनका लागि लागि मन्त्रालयले कार्यबिधि जारी गरिसकेको छ ।

कार्यबिधि अनुसार कृषकले लगानीको २० प्रतिशत अर्थात अधिकतम १० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण प्राप्त गर्न सक्नेछन् । उक्त रकम बिउपूँजीका रुपमा कृषकहरुले लगानी गर्नेगरी कार्यबिधिमा व्यवस्था गरिएको छ । 

कृषि पूर्वाधार निर्माण, भण्डारण तथा प्रशोधन पुर्वाधार निर्माण, उत्पादन, प्रशोधन, भण्डारण, बजार प्रवद्र्धन र मूल्य अभिवृद्धि सम्बद्ध यन्त्र, उपकरण, मेशिनरी, ढुवानी साधन खरिदलाई उक्त ऋणको लगानी योग्य क्षेत्र मानिएको छ ।  

मन्त्रालयका अधिकारीहरुका अनुसार कृषकहरुका लागि स्वीकृत ऋण तीन किस्तामा उपलब्ध गराईनेछ । सम्झौता लगत्तै बीउपूँजीको १० प्रतिशत, व्यवसायिक योजना कार्यान्वयनपछि ४० प्रतिशत र शत प्रतिशत कार्यसम्पन्न भएपछि ५० प्रतिशत बीउपुँजी भुक्तानी गर्ने व्यबस्था कार्यबिधिमा छ । 

१० लाख भन्दा बीउपूँजी प्रबाह गर्दा भने बैंक ग्यारेन्टी सुनिश्चित हुनुपर्ने जनाईएको छ । बीउपूँजी निर्ब्याजी भएपनि पाँच बर्षभित्र उक्त रकम सरकारलाई फिर्ता गरिसक्नुपर्नेछ । 
 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update