Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
युवा शक्तिलाई कहिलेसम्म बिदेशी भुमिमा बेच्ने सरकार ? 

-अभि थापा । हाम्रो कोरियन एअरलाईन्सको जहाज मलेसियाबाट रातिको ११ : १५ बजे जमिन छोडेर आकाशतिर लाग्छ। मनमा विभिन्न कौतुहलता, पीडा,बाध्यता आदि प्रश्नःसंग मनले आफैं सवालजवाफ गर्छ। धेरै कुरा कारुणिक र अनुत्तरित रहे। बिहानीको उषाकिरणसंगै हाम्रो जहाज कोरियाको ईन्चोन अन्तराष्टिय विमानस्थल अवतरण हुन्छ।

हाम्रो ईमिग्रेसन सकिन्छ र नयाँ परिवेश नयाँ ठाउँ बिनाबाधा हामी प्रवेश हुन लागेकोमा खुसी हुँदै झोला घिसार्दै अघि गेटतिर लाग्छौँ। स्टपको आवज आयो फर्केर हेर्दा सेक्युरिटी रैछ। मन आतियो केही गल्ती या अरु चेकअप बाँकी थ्यो,अरू यात्रु आफ्नो गन्तव्यमा लागिसकेका थिए। हामी सबैलाई खुल्ला ठाउमा लाइन बस्न लगाइयो र पालैपालो हामीलाई कीटनाशक औषधी छर्कीयो। 

मानौकी जुम्रा उपियाँ परेको भेडा बाख्रा जसरी । मलाई यो दृश्यले नीकै मानसिक रूपमा विक्षिप्त र भावुक बनायो। साथीले मलाई धाप मार्दै  सहानुभूति दिँदै भन्यो केटा हामी नेपाली श्रमिक हो। बाउ गरीब हुँदा ठिक रहेछ बरु देश धनी र शक्तिशाली चाहिँदोरहेछ। आज हामीलाई विदेशी भूमिमा आधुनिक श्रमिकको नाममा वेच्ने सरकार र नेताहरको ल्याकत मेरो गरीब बाको हैसियत र औकात भन्दानी तल रहेछ।

हैसियत औकात मलाई मेरो देशको पासवर्डले सिकाएको छ। ६०लाख युवालाई तेस्रो दर्जाको नागरिक बनाएर बेच्ने र छिमेकि देशमा नाम्लो बोकेर हिड्ने हाम्रो कथाले मलाई सधैं पोल्दैछ। उर्जाले भरिएको युवालाई विदेशी भूमिमा कैदी र घेराबन्दी गर्ने सरकारलाई सलाम मेरो। सधैं मनमा देश शक्तिशाली र विकशित भएको हेर्ने मेरो ज्यूँदो सपना बोकेर आधुनिक देशमा मजबूरी गर्दैछु।

त्यो घटनाबाट बाउआमाको गरीबीले भन्दा आज मलाई देशको गरीबिले  बढी सताएको छ। त्यो लजित क्षण मैले नेतालाई सम्झेको थिएँ । मलाई यो घटना नदेखिने समृद्ध राष्ट्र बनाइदिए सरकार।।।।
-अभि थापा हाल दक्षिण कोरियामा कार्यरत छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update