Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मन्त्रालय फुटाउने योजना नरहेको प्रष्टिकरण

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा मन्त्रालय फुटाउन लागिएको भन्ने विषयमा बाहिर आएको प्रचारका विषयमा छलफल भएको छ । बैठकमा राप्रपाले मन्त्रालय फुटाउन नहुने भन्दै बाहिर आएका प्रचारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको थियो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाउने विषयमा सत्ता साझेदार दलहरुबीच कुनै छलफल नभएको प्रष्टिकरण दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले भने, ‘मन्त्रालय फुटाउने छलफल भएको छैन, योजना पनि छैन ।’

बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने विषयमा छलफल भएको मन्त्री लामिछानेले बताए । बैठकपछि उप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले भने, ‘पर्सिसम्म सार्वजनिक हुनसक्छ ।’ उनका अनुसार यो अनौपचारिक बैठक हो, जसमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारे समेत छलफल भएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update