Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सत्ता समिकरण बदलिएपछि एकिकृत समाजवादीमा संकट

काठमाडौं । नयाँ सत्ता समिकरण बनेसँगै एकिकृत समाजवादीभित्र अन्यौलताको अवस्था देखिएको छ । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्किए माओवादी केन्द्र एमाले नेतृत्वको सत्ता समिकरणमा सामेल भएपछि एकिकृत समाजवादी समस्यामा परेको हो । जसका कारण उसले नयाँ सरकारमा सहभागि हुने वा नहुनेबारे ठोस निर्णय गर्न सकेको छैन । 

कांग्रेसले सहमति अनुसार प्रधानमन्त्री नछोड्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहितको गठबनधनमार्फत गत पुस १० गते प्रधानमन्त्री बनेका थिए । प्रचण्ड प्रधानमन्त्री भएपछि सरकारप्रतिको दृष्टिकोण तय गर्न समाजवादीले पार्टी कमिटिका बैठकमै छलफल गरेर स्पष्ट धारणा बनाउने भएको छ । त्यसका लागि बसेको स्थायी कमिटीको बैठकमा बदलिँदो परिस्थितिमा पार्टीले लिनुपर्ने कार्यनीतिबारे तीन धार देखिएको छ । 

‘यो सरकारलाई हेर्ने दृष्टिकोणका बारेमा हामी छलफल गरिरहेका छौँ । सरकारमा जाने कि नजाने भनेर छलफल गरिरहेका छैनौँ’, उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा भन्छन्, ‘सरकारमा सहभागीताका लागि औपचारिक प्रस्ताव नै आएको छैन, प्रस्ताव आएपछि त्यो प्रस्ताव लायक छ, छैन । हाम्रा उद्देश्यअनुसार यी सबै कुरा हुन्छन्, हुँदैनन । हाम्रो प्राथमिकतामा त्यो विषय पर्छ कि पर्दैन भन्ने पछिको कुरा हो ।’

नेता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता प्रचण्ड प्रधानमन्त्री भएसँगै समर्थन गर्ने कि नगर्ने भन्नेमा धर्मसंकटको अवस्था आएको बताए । उनले व्यक्तिगत रूपमा प्रधानमन्त्री प्रचण्डप्रति सद्भाव भए पनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने बताए । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । त्यसबेला एकीकृत समाजवादीले प्रचण्डको पक्षमा मतदान गर्छ वा विपक्षमा भन्ने चासोका साथ हेरिएको छ । 

पोलिटव्युरो बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रचण्डलाई विश्वासको मत दिनुपर्ने धारणा राखेको एक पोलिटव्युरो सदस्यले बताए । 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update