Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विस्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद बिस्तार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन पुस २५ मा आह्वान गरेकी छन् । संसद् सुरु भएपछि विश्वासको मत लिने सरकारको तयारी छ ।

संघीय संसद् सचिवालयले सरकारको यो संकेत बुझेर पुसभित्र सरकारले विश्वासको मत लिने, सभामुख र उपसभामुख चयनसँगै राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तयारी गरेको छ । नयाँ संसद् आएपछि राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ । 

माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेतले संसद् अधिवेशन बसेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । ‘संसद्बाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुनेछ,’ उनले भने, ‘त्यसअघि गृहकार्य हुनेछ ।’ 

एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले संसद् सुरु हुनुअघि गठबन्धन दलको बैठक बसी मन्त्रालय बाँडफाँट टुंग्याउने बताए । ‘संसद्बाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिनु उचित हुन्छ भन्ने कुरा भएको छ,’ उनले भने । गठबन्धनका जनता समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुनेबारे सर्त राखेका छन् । जसपाले नागरिकतासम्बन्धी समस्या समाधान, राप्रपाले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा र सुशासन तथा नागरिक उन्मुक्तिले संस्थापक रेशम चौधरीलाई रिहा गर्नुपर्ने सर्त अघि सारेका छन् ।

संसद् अधिवेशन हुने दिनसम्म एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने कसरत प्रधानमन्त्री दाहालको छ । एसका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा जानेबारे संवाद जारी राखिने बताए । बुधबार दाहाल, एसका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच वार्ता भएको थियो । ‘सरकारमा जानेबारे अहिले धारणा बनाउँदैनौं,’ उपमहासचिव खतिवडाले भने, ‘हाल संवाद मात्र सुरु भएको छ । ठोस निष्कर्ष निस्केको छैन ।’ अध्यक्ष नेपाल सरकारमा जान सकारात्मक भए पनि एमाले अध्यक्ष ओलीसँगको तिक्तताका कारण तत्काल निर्णयमा पुग्न सकेका छैनन् ।

प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले १० र माओवादीले ७ मन्त्रालयमा दाबी गरेका छन् । एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा, सांसदहरू पदम गिरी, विद्या भट्टराई, एलपी साँवा, ठाकुर गैरे पनि मन्त्रीका दाबेदार छन् । यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाको ३–३ तथा जनमत पार्टीको २ मन्त्रालयमा दाबी छ । सरकारमा सहभागी हुँदा राप्रपाले ३ र नागरिक उन्मुक्तिले २ मन्त्रालयमा दाबी गर्ने जनाउ दिएका छन् । तीन स्वतन्त्र सांसदले पनि एकरएक मन्त्रालय लिने बताएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update