काठमाडौँ । कार्यविधिविपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यान्वयनमा जुटेका छन् तर गृहभित्रै यस्तै बेथिति उपचार खर्चका नाममा भइरहेको छ जहाँ विपन्न सर्वसाधारण उपेक्षित छन्, पहुँचवालाको हालीमुहाली छ ।
मोरङको धनपालथान गाउँपालिका–१, नोचाका शिवकुमार मण्डल गत वर्ष मंसिर ३ मा विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना भए । नसासम्बन्धी उपचारपछि अस्पतालले चार दिनमा ‘डिस्चार्ज’ हुन भन्यो तर भर्ना हुँदा राखेको धरौटी रकम १७ हजारले बिललाई भ्याएन, थप १९ हजार तिर्नुपर्ने भयो । पैसा तिर्न नसकेपछि अस्पतालले उनलाई घर जान दिएन । अपमानपूर्वक थुनिएको चौथो दिन उनले अस्पतालको तेस्रो तलाबाट हाम फाले, ऋणमुक्त हुन नसकेर आफूलाई प्राणमुक्त बनाए ।
भोजपुरको इखुखोला हाइड्रोपावरमा २०७७ असारमा मजदुरबीच झडप हुँदा गम्भीर घाइते भएका २० वर्षीय जीवन भुजेललाई विराटनगरस्थित विराट अस्पतालमा भर्ना गरियो । तीन महिनाको उपचारपछि निको भए । तर उनी खुसी हुन सकेनन् किनकि अस्पतालले करिब ६ लाख रुपैयाँको बिल दियो । त्यति धेरै रकम जुटाउन सक्ने उनको आर्थिक हैसियत थिएन । अस्पतालले उनलाई बन्धक बनायो । खबर फैलिएपछि विभिन्न संघसंस्थाको सक्रियतामा रकम संकलन भयो, केही रकम मिनाहा गर्न अस्पताल पनि सहमत भएपछि उनी गत फागुन तेस्रो साता मात्र घर फर्किए तर त्यतिन्जेल भुजेल उपचारबाहेक पाँच महिना बन्धक भइसकेका थिए ।
उपचार सफल भए पनि अस्पतालको खर्च तिर्न नसकेर बन्धक भएका यी प्रतिनिधि पात्र मात्र हुन् । हजारौं सर्वसाधारण उपचार खर्चको डरले अस्पताल नै पुग्दैनन्, जसले उपचारको कोसिस गर्छन्, त्यो दुस्साहसजस्तो बन्छ किनकि सरकारी सहयोग र राहतमा उनीहरूको पहुँच छैन । तर, राजधानीमै करोडौं रुपैयाँको घरजग्गा र सम्पत्ति भएका पहुँचवालाहरूले भने राज्यकोषबाट रकम लिइरहेका छन् । वर्षौं लाभका पदमा बसेका पहुँचवालाका लागि गृह मन्त्रालयले पछिल्लो सात वर्षमा मात्र १ अर्ब २५ करोड रुपैयाँ वितरण गरेको छ ।
आफ्नो उपचार आफैं गर्न नसक्ने भनेर गृह मन्त्रालयबाट पछिल्लो वर्ष पनि ठूलो रकम लिनेमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि पूर्वमन्त्रीहरू प्रदीप नेपाल, रघुजी पन्त, भानुभक्त जोशी र नन्दन दत्त पनि छन् । त्यस्तै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले श्रीमतीको उपचारका नाममा, पूर्वउपरथी राजेन्द्र थापाले पनि आफ्नै लागि राज्यकोषबाट रकम बुझेका छन् । -कान्तिपुर