Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अन्तरघात र भ्रमपुर्ण स्टाटस लेख्ने नेता कार्यकर्तालाई कारबाही गर्ने एमालेको निर्णय

चरिकोट । नेकपा एमाले दोलखाले निर्वाचनमा अन्तरघात गर्ने बिरुद्ध आवश्यक छानविन गरी कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेहरुलाई आवश्यक छानविन गरी कारबाही प्रक्रिया अघि बढाउने निर्णय एमालेले गरेको हो । 

सदरमुकाम चरिकोट स्थित पार्टी कार्यालयमा यही पुष ९, १० र ११ गते चलेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले पार्टीमा सांगठनिक अराजकता मौलाउँदै गएको र त्यसले निर्वाचन परिणाममा समेत असर गरेकाले अन्तरघात गर्नेलाई कारबाही गर्नुपर्ने निर्णय बैठकले गरेको जानकारी दिए । 

अन्तरघातबारे आएको रिर्पोटको आधारमा पार्टी कमिटी र जनवर्गीय संगठनका नेता÷कार्यकर्तालाई पार्टी विधान अनुसार स्पष्टिकरण सोध्ने, निलम्वन देखि निष्काशनसम्मको कारबाही गर्ने निर्णय भएको बैठकपछि अध्यक्ष श्रेष्ठले आज जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । त्यसको सम्पूर्ण अधिकार जिल्ला कमिटी अध्यक्षलाई दिईएको छ । 

बैठकले निर्वाचनमा अन्तरघात, असहयोग गर्ने, आफ्नो भोट हाल्ने निष्क्रिय रहने, गठबन्धनलाई सहयोग गर्ने संगठित सदस्यहरुको बिवरण गोप्य रुपमा जिल्ला नेतृत्वलाई पेश गर्न स्थानीय पार्टी कमिटीलाई निर्देशन दिईएको छ । साथै निर्वाचनमा पार्टीका जिम्मेवार नेताहरुले अन्तरघात गरेको सूचना वा तथ्यप्रमाण भए उजुरी गर्न सार्वजनिक आव्हान गरिएको छ । 

निर्वाचन परिणाम सार्वजनिक भएपछि पार्टीका नेताहरु बिरुद्ध सामाजिक संजालमा आपत्तिजनक र बिवादास्पद स्टाटस लेखी पार्टी पंक्तिलाई निराश बनाउने र भ्रम सिर्जना गर्ने नेता कार्यकर्ताहरुको बिवरण समेत संकलन गरी कारबाही गर्ने निर्णय भएको जारी बिज्ञप्तीमा जनाईएको छ । निर्वाचनका क्रममा बुथ सुरक्षा गर्ने क्रममा गठबन्धनका कार्यकर्ताले आफ्ना कार्यकर्ताहरुमाथि आक्रमण गरेको भन्दै त्यसको निन्दा गरिएको छ । 

यसैगरी स्थानीय तह निर्वाचनमा भएको अन्तरघातबारे छानविन गर्न गठित छानविन कार्यदललाई २१ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । बैठकले संगठित सदस्यता नविकरण कार्यलाई नियमित र व्यवस्थि तगर्न गाउँ÷नगर र वडा कमिर्टीहरुलाई निर्देशन दिएको  छ । 

तीनदिनसम्म चलेको बैठकमा स्थानीय पार्टी कमिटीका पदाधिकारी देखि प्रत्येक जिल्ला कमिटी सदस्यहरुलाई रिर्पोटिङ गर्ने समय दिईएको थियो । नेताहरुका अनुसार जिल्लाका शिर्ष नेताहरुबीच बिगतदेखि रहेका केही तिक्तता समेत मेटिने गरी बैठकमा छलफल भएको थियो । 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update