Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कांग्रेस र माओवादी आ-आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा

काठमाण्डौं । मङ्सिर ४ को निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस र तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्र आ–आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा लागेका छन् । त्यसका लागि उनीहरूले एकअर्कासँग सहयोग र समर्थनको अपेक्षासहित संवाद थालेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर पूर्व सहमतिअनुसार पहिलो खेपको प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न प्रस्ताव नै राखेका छन् । प्रचण्डको प्रस्तावमा सभापति देउवाले संसदीय संसदीय दलको नेता चयनपछि मात्रै यसबारे छलफल गर्ने जवाफ दिएका छन् । देउवा आफै प्रधानमन्त्री बन्ने कसरतमा छन् । 

निर्वाचनअघि यही गठबन्धनलाई अरू १० वर्ष निरन्तरता दिने बताएका कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले पहिला को प्रधानमन्त्री बन्ने ? भन्नेमा ठोस सहमति नहुँदा पहिलो प्रधानमन्त्रीमा दुवै दलको दाबी रहँदै आएको छ । 

निर्वाचन आयोगले आज समानुपातिक सांसदलाई समेत निर्वाचित भएको प्रमाणपत्र दिँदैछ । आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको अन्तिम परिणाम बुझाइसकेको छ । संविधानअनुसार निर्वाचन नतिजा प्राप्त भएपछि राष्ट्रपतिले सरकार गठनक लागि आह्वान गर्नुपर्ने हुन्छ । सोही अनुसार राष्ट्रपतिले सोमबारभित्र सरकार गठनका लागि आह्वान गर्ने तयारी समेत गरेकी छन् । 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update