Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा आर्थिक वर्ष २०७९।८० मा भएको धान, किवी तथा आलुको उत्पादनको स्थिति

दोलखामा यस वर्ष २८१४ हे. क्षेत्रफलमा लगाईएको धान वालीबाट ७,०९१ मे.ट. धान उत्पादन भएको छ जुन गत वर्षको तुलनामा ५९७ मे.ट. कमि हो । धानको उत्पादकत्वमा पनि कमि देखिएको छ । गत वर्ष धानको उत्पादकत्व २.६५ मे.ट. प्रति हे। रहेकोमा यस वर्ष २.५२ मे.ट. प्रति हेक्टर भएको पाईएको छ । यसरी उत्पादन तथा उत्पादकत्वमा कमि आउनुमा गत वर्षको तुलनामा धान लगाउने क्षेत्रफलमा ८७ हे. घट्नुका साथै फूल फुल्ने समयमा पानी पर्नु, हाइब्रिड जातका धानमा नेक ब्लास्ट, सिथ ब्लाइट जस्ता रोगका साथै पतेरो, फड्के किराको प्रकोपका कारण पनि उत्पादन घटेको देखिएको छ।धानको राष्ट्रिय औसत उत्पादकत्व ३.८१ मे.ट. प्रति हेक्टर रहेको छ ।

त्यस्तै किवी तर्फ विगत तिन वर्षको तथ्याङ्क विश्लेषण गर्दा उत्पादन र उत्पादकत्व क्रमश बढ्दै गईरहेको पाईएको छ। अघिल्ला वर्षहरुमा स्थापित किवी बगैंचाबाट उत्पादन बढ्ने क्रममा रहेको हुँदा किवीको उत्पादन बढेको देखिएको छ । जिल्लामा २०१ हे। क्षेत्रफलमा किवी खेती गरीएकोमा ५४ हे। उत्पादनशिल बगैंचाबाट ११.८ मे.ट प्रति हेक्टर उत्पादकत्व कायम भै ६२५ मे.ट. उत्पादन भएको पाईएको छ । गत वर्ष उत्पादनशिल ५४ हे. बाट ६४४ मे.ट. उत्पादन भएको थियो। किवीको उत्पादकत्वमा वृद्धि हुनुमा रोगकीराको न्यून असर र पुराना बगैंचाको केहि हदसम्म उचित व्यवस्थापनबाट भएको हो । गुणस्तरीय किवी फलको लागि किवी फल टिप्ने अवस्था, फलको भण्डारण र बगैंचाको स्याहार संभारमा ध्यान दिनु आवश्यक देखिन्छ । 

त्यस्तै ३०६९ हे. क्षेत्रफलमा लगाएको हिउँदे आलु वालीबाट ५५,८८६ मे।ट। उत्पादन भै १८.२१ मे।ट। प्रति हेक्टर उत्पादकत्व कायम रहेको छ जुन गत वर्ष १८.२३ मे.ट. प्रति हेक्टर रहेको थियो । यो उत्पादकत्व आलुको राष्ट्रिय उत्पादकत्व १६।७ मे।ट। प्रति हेक्टर भन्दा बढी नै रहेको छ । आलु वालीमा यस वर्ष धेरै वर्ष पछि आकस्मिक रुपमा देखा परेको सेमिलुपर कीराको प्रकोपका कारण आलुको उत्पादनमा करीब १० प्रतिशत कमि भएको छ । यस जिल्लाको नगदेवालीको रुपमा परीचित आलु वालीको उत्पादन तथा उत्पादकत्व वृद्धिकोलागि तिनै तहका सरकारी निकायहरुबाट विभिन्न कार्यक्रमहरु जस्तै गुणस्तरीय बीउ उत्पादन तथा प्रयोग, बीउ भण्डारण, सिंचाई तथा यान्त्रीकरणमा सहयोग, तालिम आदिबाट सेवाटेवा पुर्याउने कार्य भैरहेको छ ।
                                                                                                       कृषि ज्ञान केन्द्र, रामेछाप
                                                                                                      सम्पर्क कार्यालय, चरीकोट  
 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update