काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन ।
गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार हालसम्म मृतकको संख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको अधिकारीले जानकारी दिए । उनका अनुसार घाइते सबैलाई उपचारार्थ बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल र्पुयाइएको छ ।
अस्पताल दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिएको थियो । अझै मृतकको पहिचान हुन सकेको छैन । बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना ग्रस्त भएको थियो । घटनाको थप अनुसन्धान भैरहेको छ ।