Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘दोलखालाई फेरी बद्नाम गराईयो, बुथ कब्जाको परिणाम स्वीकार्य छैन’

चरिकोट । नेकपा एमालेका पोलिट व्यूरो सदस्य पार्वत गुरुङले २०७० सालमा अन्त्य गरिएको बुथ कब्जाको गलत संस्कार फेरी दोहोर्याएर गठबन्धनले दोलखालाई बदनाम गराएको बताएका छन् । २०५१ सालदेखि कांग्रेसले जिल्लामा बुथ कब्जाको गलत संस्कृति सुरुवात गरेको उल्लेख गर्दै गुरुङले एमालेले निरन्तर त्यसको प्रतिवाद गरेको बताए ।

पुर्व मन्त्री समेत रहेका गुरुङले दोलखामा प्रदेशसभा २ नम्बर क्षेत्रमा एमाले उम्मेदवार भरत केसी बिजय भएपछि सदरमुकाम चरिकोटमा आयोजित विजय कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । २०७० सालको निर्वाचनबाट बुथकब्जालाई रोक्न र जनमतको संरक्षण गर्न आफुहरु सफल भएपनि यो निर्वाचनमा सत्तारुढ गठबन्धनले त्यसलाई फेरी दोहोर्याएर जिल्लाको शिर झुकाउने काम गरेको गुरुङको भनाई छ ।  

‘यो निर्वाचनमा कडा सुरक्षा व्यवस्थाका गरिएको भनिएका कारण हामीले त्यसलाई विस्वास गर्यौं, आफ्नो तर्फबाट तयारी गरेनौं, तर एक दर्जन बढी स्थानहरुमा बुथ कब्जा गरिएको छ, जिल्लाको शिर झुकाईएको छ, कलंकित बनाईएको छ, त्यसलाई हामी स्वीकार गर्दैनौं ।’

दोलखामा एकदर्जन बढी स्थानहरुमा बुथ कब्जा हुँदापनि देखिएको जनमतले जनता एमालेको साथमा रहेको र जनमतको आधारमा एमाले सबै निर्वाचन क्षेत्रमा विजय भएको उनले टिप्पणी गरे । बुथ कब्जा भएको केही स्थानमा ईतिहाँसमै पहिलो पटक पुनः निर्वाचन भएको र जिल्लाबाट बुथ कब्जालाई सँधैको लागि अन्त्य गर्न एमाले लाग्ने उनले बताए । यो निर्वाचनबाट नयाँ अनुभव र शिक्षा लिएको भन्दै उनले आज राजनीतिक कोर्सलाई नयाँ ढंगले अघि बढाउने बताए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update