चरिकोट । मंसिर ४ गते भएको मतदान रद्ध भएपछि दोलखाको १० वटा मतदान केन्द्रहरुमा आज पुनः निर्वाचन हुँदैछ । प्रदेशसभा १ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत पर्ने १० वटा मतदान केन्द्रहरुमा बिहिवार पुन निर्वाचन हुन लागेको हो । पुनः निर्वाचन हुने मतदान केन्द्रहरुमा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रका क, ख र ग मतदान केन्द्र र तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ती मतदान केन्द्रहरुमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । जिल्लाका बिभिन्न मतदान केन्द्रमा सत्तारुढ गठबन्धनले बुथ कब्जा गरेर एकलौटी मतदान गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएपछि निर्वाचन आयोगले खटाएको अध्ययन तथा छानविन टोलीको प्रतिवेदनको आधारमा १० मतदान केन्द्रमा पुनः निर्वाचन हुन लागेको हो ।
ती मतदान केन्द्रमा निर्वाचन सामाग्री र कर्मचारीहरु पुगिसकेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार १० वटा मतदान केन्द्रमा जम्मा ८ हजार ५ सय १४ जना मतदाता रहेका छन् । मंसिर ४ को जस्तै घट्ना दोहोरिने सम्भावनालाई मध्येनजर गर्दै पुनः मतदान हुन लागेका मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको जनाईएको छ ।