काकाठमाडौँ । बाजुरा र स्याङ्जा २ मा मतगणना सुरु गरिने भएको छ । निर्वाचन आयोगले स्याङ्जा(२ र बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको हो । आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई नै सदर गर्दै मतगणना सुरु गर्न भनेको छ।
स्याङजा २ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेसहित अन्य राजनीतिक दलहरुले पुन मतदानको माग गरेका थिए । त्यसैगरी बाजुराको विभिन्न मतदान केन्द्रमा समेत बुथ कब्जा भएको भन्दै एमालेले पुन मतदान गर्नुपर्ने निवेदन दिएको थियो ।
बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा–२ को विवाद जिल्लास्तरबाट सुल्झन नसकेर आयोगमा आइपुगेको हो । स्याङ्जाको चापाकोट नगरपालिका–३ को दिसिङकोट आधारभूत विद्यालय, वडा ४ को राम मन्दिर मावि, वडा ५ का जनसक्रिय आधारभूत विद्यालय र दिनदलायु आधारभूत विद्यालयका सबै मतदात केन्द्रमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत खसालेको एमालेको दाबी छ।