चरिकोट । सत्तारुढ गठबन्धनले दोलखाका बिभिन्न मतदान केन्द्रहरुमा पुनः मतदान गर्ने निर्णयप्रति असहमति जनाउँदै बिज्ञप्ती जारी गरेको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले संयुक्त बिज्ञप्ती जारी गर्दै पुनः निर्वाचन गराउने निर्वाचन आयोगको निर्णयको प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
जारी बिज्ञप्तीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले पक्षपातपूर्ण निर्णय गरेको आरोप लगाउँदै मुख्य निर्वाचन अधिकृतको अर्को व्यवस्था गर्न माग गरिएको छ । ‘मूख्य निर्वाचन कार्यालय दोलखाको पक्षपाती निर्णयप्रति आक्रोसित जनताले आफ्नो मताधिकारको रक्षार्थ गर्नसक्ने प्रतिरोध प्रति मुख्य निर्वाचन कार्यालय जिम्मेवार हुनेछ, बिज्ञप्तीमा चेतावनी दिईएको छ ।
निर्वाचन आयोगले जिल्लामा खटाएको अध्ययन टोलीको प्रतिवेदनको आधारमा बिभिन्न १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गर्न निर्देशन दिएको थियो । जसमा वैत्यश्वर गाउँपालिका–६, का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र लगायत रहेका छन् ।
जारी बिज्ञप्तीमा नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामा, माओवादी केन्द्रका जिल्ला संयोजक कुलबहादुर बुढाथोकी र एकिकृत समाजवादीका भिम प्रसाद दाहालले हस्ताक्षर गरेका छन् ।