Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सत्तारुढ गठबन्धन बहुमत ल्याउन असफल

काठमाडौँ - मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्तारुढ गठबन्धन बहुमत ल्याउन असफल भएको छ । गठबन्धन दुई तिहाइको महत्त्वाकांक्षासहित निर्वाचनमा होमिएको थियो । तर उसलार्य सामान्य बहुमत पुर्‍याउनै मुस्किल पर्ने देखिएको छ । प्रत्यक्षतर्फको परिणामले सत्ता गठबन्धन सफल हुन नसकेको देखाएको छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाले १ सय ६५ निर्वाचन क्षेत्रमा सिट बाँडफाँट गरेर उम्मेदवार उठाएका थिए । शुक्रबारसम्मको परिणामअनुसार गठबन्धन दलले प्रत्यक्षतर्फ ७४ सिट जितेका छन् भने १२ मा अग्रता लिएका छन् । अग्रता लिएका सबै स्थान जित्दा पनि प्रत्यक्षतर्फ ८६ सिट मात्रै पुग्छ ।

माओवादीका केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय कांग्रेसबाट धोका भएको बताउँछन् । ‘गठबन्धन रणनीतिक उद्देश्यमा आधारित थियो, मत परिणाम पूर्ण रूपमा आएपछि गठबन्धनभित्र समीक्षा होला,’ उनले भने, ‘तर स्थानीय तह निर्वाचनमा भन्दा अहिले कांग्रेसबाट धोका भएको हामीले महसुस गरेका छौं ।’

गठबन्धन दलले सोचेजस्तो परिणाम ल्याउन नसकेपछि धोका भएको आरोप–प्रत्यारोप हुन थालेको छ । विशेषगरी माओवादी नेता–कार्यकर्ताले कांग्रेसबाट धोका भएको बताउन थालेका छन् । कांग्रेसमा भने सत्ता साझेदार दलबाट भन्दा पनि आफ्नै पार्टीभित्र घात भएको आरोप सुनिन थालेको छ ।

प्रदेशमा पनि असफल
प्रदेशसभातर्फ पनि गठबन्धनले आशा गरेअनुसार सफलता पाउन सकेको छैन । सातवटै प्रदेशमा कांग्रेसका १ सय ७९ उम्मेदवार रहेकामा शुक्रबार रातिसम्म ९३ स्थानमा जितेको छ भने १२ स्थानमा अग्रता लिएको छ । माओवादीले १ सय १२ उम्मेदवारी दिएको थियो । तीमध्ये ४५ स्थानमा जितेको छ भने ५ मा उसका उम्मेदवार अगाडि छन् । त्यसैगरी एकीकृत समाजवादीले ६६ स्थानमा उम्मेदवार उठाएकामा १२ सिट जितेको छ, ३ वटामा अग्रता लिएको छ ।

सत्ता गठबन्धनले प्रत्यक्षतर्फ सोचेअनुसार सिट जित्न नसकेपछि मधेस र सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निर्वाचनमा सहभागी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी निर्णायक हुने अवस्था निर्माण भएको छ । यसले गर्दा सातवटै प्रदेशमा मिलीजुली सरकार बन्ने देखिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update