चरिकोट – नेकपा एमाले दोलखाले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा दोलखामा बुथ कब्जा गर्ने कार्यमा संलग्न सबैको क्रमशः भण्डाफोर गर्दै जाने बताएको छ । जिल्लाका करिब एक दर्जन मतदान केन्द्रहरुमा बुथ कब्जा गरिएको भन्दै एमालेले त्यसमा संलग्न सबै पक्षको भण्डाफोर गर्ने योजना बनाएको हो ।
जिल्लाको बैतेश्वर, तामाकोशी, कालिञ्चोक, गौरीशंकर, मेलुंङ, शैलुङ गाउँपालिकाका बिभिन्न मतदान केन्द्रमा गुण्डा प्रयोग गर्दै बुथ कब्जा गरेर सत्तारुढ गठबन्धनले एकलौटी मत खसालेको एमालेको आरोप छ । एमाले जिल्ला कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले बुथ कब्जा गर्ने नेता, त्यसमा सहयोगी भूमिका खेल्ने सुरक्षाकर्मी, कर्मचारी सबैको बिवरण सार्बजनिक गर्दै भण्डाफोर र कारबाहीको दायरामा ल्याईने बताए ।
‘राज्यको निष्पक्ष जिम्मेवारीमा रहेर कुनै दल वा गठबन्धन विशेषलाई जिताउन भूमिका खेल्नु, गैरजिम्मेवार, पदीय मर्यादा र अनुशासनको दुरुपयोग हो, त्यस्ता व्यक्तिहरुलाई कारबाहीको दायरासम्म ल्याउन निरन्तर भण्डाफोर अभियान चलाईन्छ, उनले भने ।’ एमाले उम्मेदवारहरुले ती मतदान केन्द्रहरुमा पुनः मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । उजुरी उपर निर्वाचन आयोगले छानविन गरिरहेका कारण मतगणना कार्य स्थगित गरिएको छ ।
यस्तो छ, मानन्धरले सार्वजनिक गरेको एमालेको स्टेटमेन्ट
दोलखा निर्वाचनको अन्यौलता निरूपण गर्ने कदम..
‘पहिला पहिला गरेकोले त्यहीँ सिकेको’
भन्ने तर्क अहिले दोलखामा चर्चित छ । एउटा निर्वाचनमा हारजित हुनु ठूलो कुरा हैन तर पहिला पहिलाको गलत नजीरहरू अघि सारेर अहिलेको निर्वाचनमा त्यसै गरेँ भन्दै उक्सनु र उक्साउनु एकछिनलाई रमाइलो गर्ने विषय हो ।
तर, दोलखाको भावी पुस्ता, राजनीतिक भविष्य खोज्नेहरू जो कोहीका लागि यस्ता घृणित गतिविधिले निरासा थप्ने मात्र हो । ठूला राजनीतिक दलहरूले लोकतन्त्र र गणतन्त्रको असल अभ्यासहरू सिक्ने र सिकाउने प्रयास नगर्ने हो भने नयाँ पुस्ताले विचारलाई भन्दा पनि भीड र वितृष्णाको माहौलको पक्षमा मत जाहेर गर्ने क्रम यही निर्वाचनबाट देखिन थालेको छ ।
त्यसैले जसले जतिसुकै नेकपा एमालेलाई आलोचना गरेता पनि हामी बुथ कब्जा र गैरराजनीतिक कृयाकलाप विरूद्ध अभियान जारी रख्ने छौं ।
हामी दोलखामा,
१. कब्जा भएको बुथमा पुनस् निर्वाचन गराएर जनतालाई आफ्नो मत आफैं हाल्ने वातावरण निर्माण गराउन पहल जारी राख्ने छौं ।
२. स्वच्छ, निश्पक्ष, भयरहित र निर्वाचन आयोगको निर्देशन पालना नगर्ने दोलखा प्रशासन प्रमुख, सुरक्षा प्रमुखहरूको निर्वाचनको क्रममा कर्तव्य पालना बारेको भूमिकाको अध्ययन गर्ने र त्यही अनुसारको व्यवहार गर्दै जाने ।
३. मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयको भूमिका सम्बन्धमा निर्वाचन प्रकृया सुरू भएदेखि निर्वाचनको सम्पूर्ण कार्य पूरा नभएसम्मका काम र गतिविधि अध्ययन गर्न टोली बनाउने । र, अध्ययनबाट आएको निष्कर्ष दोलखाली जनतालाई सार्वजनिक गर्दै जाने ।
४. सम्वेदनशील बुथमा मतदान अधिकृतहरू सेटिङ र भनसुनमा खटाइएको भन्ने कुराको खोजी गर्ने । कुन बिधिबाट अधिकृत खटाइएको हो भन्ने कर्मचारी खटनपटन अधिकारीले जनतालाई जवाफ दिनुपर्ने आवाज उठाइरहने ।
५. बुथ कब्जा गराउन सहयोग गर्ने, कानुनी प्रकृया मिलाईदिने र निर्वाचनको क्रममा सबै ठीक छ भनेर झूटा विवरण दिइरहने तर बुथ कब्जालाई सघाइरहने अधिकृहरूलाई ुजनमत खोस्ने मतियार कर्मचारीु घोषित गर्ने । तथ्यप्रमाण सहित उनीहरू विरूद्ध मुद्दा दायर गर्ने ।
६. मतदानस्थलमा प्रलोभन र सेटिङमा संलग्न भै कर्तव्य निर्वाह नगरी बुथ कब्जालाई सघाउने सुरक्षाकर्मीहरूको सबुत प्रमाणको आधारमा ुनिर्वाचनद्रोहीु घोषणा गरी जनतामाझ सार्वजनिक गर्ने ।
७. दोलखामा बुथ कब्जाु विषयमा पत्रकार, नागरिक समाज र बौद्धिक वर्गमा अध्ययन र बहसको विषय वनाइरहन माहौल बनाउने ।
८. सधैं बुथ कब्जा हुने बदनामित ठाउँहरूको जनतालाई लोकतन्त्र र मताधिकारको विषयमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने ।
९. निर्वाचन आयोगलाई दोलखामा सुरक्षित निर्वाचनको उपाय निकाल्न सुझाव दिइरहने ।
१०. युवापुस्तालाई लोकतन्त्रका असल संस्कार र राजनीतिमा सक्रिय गराउन अभियान सञ्चालन गर्ने ।
११. हावी हुँदै गएको बुथ कब्जा संस्कृतिको अन्त्य गर्न निर्वाचन आयोगमा जनतासँग भएका प्रमाणहरू सम्प्रेषण गरिरहने ।
१२. दोलखामा २०७९ मंसिर ४ गते कब्जा गरिएको बुथको सम्वन्धमा निर्वाचन आयोगको निर्णय कुर्ने ।
१३. निर्वाचन आयोगको निर्णयपछि थप धारणा सार्वजनिक गर्ने ।