Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बुथ कब्जा भएका स्थानमा पुनः मतदान गर्न एमाले पालिका कमिटीहरुको माग

चरिकोट – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा भएको फर्जी मतदानबारे नेकपा एमाले दोलखाका ६ वटा पालिका कमिटीहरुले बिज्ञप्ती जारी गर्दै छानविन र पुन मतदानको माग गरेका छन् । जिल्लाको ६ वटा गाउँपालिका कमिटीका अध्यक्षहरुले छुट्टाछुट्टै बिज्ञप्ती मार्फत बुथ कब्जा गरेर जनताको मताधिकार खोसिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

एमाले बैतेश्वर गाउँपालिका कमिटीको तर्फबाट जारी विज्ञप्तीमा १, २, ३ र ६  नम्बर वडाको बुथ कब्जा गरी फर्जी मतदान गरिएको भन्दै त्यहाँ पुन मतदानको व्यवस्था गर्न माग गरिएको छ । यसैगरी एमालेले गौरीशंकर गाउँपालिका वडा नम्बर २ स्थित सेतीदेवी आधारभुत विद्यालय मतदान केन्द्रमा आफ्ना कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण गरी एकलौटी रुपमा फर्जी मतदान गराईएको भन्दै पुनः मतदान गर्न माग गरेको छ ।

बुथ कब्जा गरेर गठबन्धनको दबाबमा मतदान अधिकृतले एकलौटी ढंगले मतदान संचालन गरेकोले पुनः मतदान गराउन जोडदार माग गर्दछौं, अध्यक्ष जंगबहादुर गुरुङद्धारा जारी विज्ञप्तीमा भनिएको छ । 

कालिञ्चोक गाउँपालिका वडा नम्बर १ स्थित बेगुम्पा मतदान केन्द्रमा पनि सत्तारुढ गठबन्धनले गुण्डाहरु मार्फत एकलौटी मतदान गराएको भन्दै उक्त केन्द्रको मतदान रद्ध गरी पुनः मतदान गराउन माग गरिएको छ । अध्यक्ष ईश्वरी दाहालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बुथ कब्जा गरिएको घट्ना प्रमाणित भैसकेको छ, त्यसको प्रमाण समेत सुरक्षित छ, तसर्थ पुनः मतदान गराउन निर्वाचन आयोग समक्ष जोडदार माग गर्दछौं ।’

यस्तै एमाले मेलुङ गाउँपालिका कमिटीले पनि वडा नम्बर ४ स्थित जुके मावि मतदान क र ख बुथमा प्रहरी प्रशासन र मतदान अधिकृत तथा कर्मचारीहरुको मिलेमतोमा गठबन्धनका तर्फबाट एकलौटी मतदान गरिएको जनाएको छ । ‘जिल्ला बाहिरबाट ल्याईएका गुण्डाहरु मतदान केन्द्रमा प्रवेश गराई मतदाता लखेटेर एकलौटी मतदान गरिएकोले दोषीमाथि कारबाही र पुनः मतदानको माग गर्दर्छौ, अध्यक्ष अम्विका गोलेद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । 

एमाले शैलुङ गाउँपालिका कमिटीका अध्यक्ष थिरबहादुर मोक्तानले पनि एक विज्ञप्ती जारी गर्दै शैलुङ गाउँपालिका वडा नम्बर २ भुषाभेदा स्थित नविन मावि मतदान केन्द्रमा गठबन्धनबाट बुथ कब्जा गरेर एकलौटी ढंगले ९० प्रतिशत मत खसाल्ने काम गरिएकोले पुन निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन् । 

तामाकोशी गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ५ स्थित मतदान केन्द्रहरुमा पर्जी मत खसाल्ने काम भएको भन्दै एमालेले दोषी माथि कारबाहीको माग गरेको  छ । एमाले तामाकोशी गाउँपालिका कमिटीका अध्यक्ष उर्मिला खड्काद्धारा जारी बिज्ञप्तीमा वडा नम्बर ३ स्थित जामुने हेल्थपोष्ट मतदान केन्द्रमा पुनः मतदान गराउन माग गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update