चरिकोट - निर्वाचन आयोगले दोलखाको बिभिन्न मतदान केन्द्रमा बुथ कब्जा भएको भनि परेको उजुरीबारे निर्णय नभई मतगणना प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ । जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गर्दै आयोगले आवश्यक निर्णयपछि मतगणना प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
बुथ कब्जा भएको भनिएको स्थानको सत्यतथ्य बिवरण पठाउनु, आवश्यक निर्णयपछि मात्रै मतगणना प्रक्रिया अघि बढाउनु, आयोगले गरेको पत्राचारमा भनिएको छ । यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा जिल्लाको बिभिन्न मतदान केन्द्रमा बुथ कब्जा गरेको र उक्त स्थानमा पुन मतदान हुनुपर्ने माग गर्दै नेकपा एमालेका उम्मेदवारहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । उक्त उजुरी उपर आयोगले अझै निर्णय गरिसकेको छैन ।
जसका कारण मतगणना सुरु गर्ने वा बुथ कब्जा गरिएको भनिएको स्थानमा पुन मतदानपछि मतगणना सुरु गर्ने भन्ने विषय अन्यौलमा छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगले पठाएको पत्रका आधारमा तत्काल जवाफ पठाउने तयारी भैरहेको छ ।
बुथ कब्जा गरिएका स्थानमा पुनः मतदान नगरे मतगणना प्रक्रियामा भाग नलिने एमालेको अडान छ भने मतगणना सुरु गर्न ढिलाई भएको प्रति सत्तारुढ गठबन्धनले बिरोधन जनाईरहेका छन् ।
एमाले उम्मेदवारले दिएको उजुरी उपर छानविन गर्न आयोगले दोलखामा छुट्टै टोली समेत खटाएको छ । सहसचिव यज्ञ प्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय टोली सत्यतथ्य जाँचबुझ गर्न खटाईएको हो । जसमा गुरु वाग्ले र मोहनराज जोशी सदस्य छन् । उक्त टोलीले बुधवार विहानबाट जिल्ला स्थित सरोकारवालाहरुसँग छलफल गरिरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको राय र आयोगले खटाएको टोलीले बुझाउने रिपोर्टको आधारमा आयोगले पुनः मतदान गराउने वा मतगणना सुरु गर्ने भन्ने बारे आवश्यक निर्णय लिने बताईएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि मतगणना स्थगित रहने जनाएको छ ।