Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चुनावी सुरक्षा : दोलखा फेरि ‘रेडजोन’मा, बुथ कब्जाको कलंक मेटिएला ?
फाईल तस्बिर

काठमाडौं - निर्वाचन आयोगले दोलखाको अति सम्वेदनशील मतदान केन्द्रहरुलाई विशेष निगरानीमा राखेको जनाएको छ । प्रत्येक निर्वाचनमा जिल्लाको केही मतदान केन्द्र स्थित बुथ कब्जा हुँदै आएको छ । गत स्थानीय निर्वाचनमा पनि बैतेश्वर र तामाकोशी गाउँपालिकाका केही बुथ कब्जा गरिएको थियो ।

बुथ कब्जाका भिडिओ नै सार्वजनिक भएपनि निर्वाचन आयोगले त्यहाँको नतिजालाई मान्यता दिएको थियो । उक्त प्रमाणहरु समेत संकलन गरेर दोलखालाई सुरक्षा संवेदनशीलताको हिसाबले पनि पहिलो नम्बरमा राखेको आयोगले जनाएको छ ।

दोलखाको प्रदेशसभा क्षेत्र नम्बर १ का करिब एक दर्जन मतदान केन्द्रलाई ‘क’ श्रेणीको सुरक्षा निगरानीमा राखिएको आयोग स्रोतले जनाएको छ । बैत्यश्वर गाउँपालिकाका तीनवटा मतदान केन्द्र स्थित गैरीमुदीको दुई वटा बुथ र मिर्गेका बुथलाई निगरानीमा राखिएको आयोगले जनाएको छ । गैरीमुदीका स्थानीयले २०४८ सालदेखिका प्रायः कुनै पनि चुनावमा मतदान गर्न पाएका छैनन् । यसपटक स्थानीय चुनावमा पनि कांग्रेसले दुवै बुथ कब्जा गरेको थियो । 

त्यस्तै गौरीशंकर गाउँपालिकाको जुगु, झ्याकु र मार्बुलाई पनि निगरानीमा राखिएको छ भने तामाकोशी गाउँपालिकाकाका जफे, मालु, झुले र शहरेलाई सम्भावित बुथ कब्जा हुने मतदान केन्द्र मानेर निगरानीमा राखिने आयोगले जनाएको छ । यी गाउँमा स्थानीय तह चुनावमा पनि गठबन्धनले बुथ कब्जा गरेको थियो ।

यसका साथै जिरी नगरपालिकाको ठूलो पातालसहित मेलुङ र शैलुङ, बिगु गाउँपालिकाका केही मतदान केन्द्रलाई पनि संवेदनशील मानिएको छ । आयोगले ती क्षेत्रमा थप सुरक्षाकर्मीको प्रबन्ध गर्ने भन्दै विगतमा जस्तो भए कब्जा भएका ठाउँमा पुनः मतदान गराउने तयारी गरेको छ । 

यसअघि निर्वाचन आयोगका पदाधिकारीहरूलाई नै भेटेर जिल्लाका कतिपय नेता तथा मानवअधिकारकर्मीहरूले दोलखामा सधैँ बुथ कब्जा हुने गरेकाले यसपटक विशेष व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । बुथ कब्जा हुने भनेर बदनाम भएका ठाउँमा सीसी क्यामेरा राख्नेबारे पनि छलफल भएको छ । तर, त्योमात्र भरपर्दो उपाय नभएकाले यसपटक माथिबाटै निगरानी र अनुगमन हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update