Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘निर्वाचनमा विवेक र विचारको जित होस्’

काठमाण्डौं – यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । आवधिक निर्वाचन आजको लोकतन्त्रको सबैभन्दा सुन्दर पक्षको रुपमा स्थापित छ । जनताले आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्ने स्वर्णिम अबसर हो निर्वाचन । निर्वाचनमा जनताले गर्ने फैसलालले आगामी पाँच वर्षको शासनसत्ताको चरित्र र मुलुकको भविष्य निर्धारण गर्छ । निर्वाचनको निष्पक्षता र स्वच्छतामाथि उठ्ने प्रश्नले भने हाम्रो लोकतन्त्रलाई गिज्याईरहेको हुन्छ । 

निर्वाचनमा साम, दाम, दण्ड, भेदको प्रयोगले लोकतन्त्रलाई नै विकृत बनाईरहेको छ । देशका बिभिन्न मतदान केन्द्रमा हुने बुथ कब्जा, फर्जी मतदान, मतदातालाई प्रलोभनमा पार्ने शिलशिला अद्यापी कायम छ । जस्तोसुकै हर्कत गरेर चुनाव जित्ने अभ्यासले लोकतन्त्रको बदनाम गराईरहेको छ । अनावश्यक तामझाम, तडकभडक जस्ता भड्कीलो प्रचारशैलीले निर्वाचन महंगो त बनाएको छ नै, मतदाताको विवेकलाई समेत भ्रमित बनाएको छ । 

गत स्थानीय तह निर्वाचनमा पैसा, खाद्यन्न, अन्य बिभिन्न उपभोग्य सामग्रीसँग मत साट्ने समस्या खुलेआम रुपमा प्रकट भयो । मतदाताले यो निर्वाचनमा उक्त गल्ती दोहोर्याउनु हुँदैन । यो अबस्थाको अन्त्य गर्न निर्वाचनमा सम्बन्धित राजनीतिक दलको घोषणा–पत्र, त्यसमा उल्लेखित बिचार र एजेण्डा, कार्यान्वयन हुने सुनिश्चितता र योग्य नेतृत्वका लागि मतदाताहरुले विवेकको अधिकतम प्रयोग गर्न आवश्यक छ । 

जनतामा व्याप्त अशिक्षा, गरिबी, अभाव र समस्यामा ब्ल्याकमेलिङ गरेर जनतालाई भेडाबाख्रा जस्तै खरिद बिक्री गर्दै निर्वाचन जित्ने पात्रहरु औपचारिकताका लागि सत्तामा पुगेपनि साँचो अर्थमा उनीहरुले जनताको भावनाको प्रतिनिधित्व गरेका हुँदैनन् । पैसा र बलमिच्याँईको आडमा चुनाव जित्नेहरु जनताको असली सेवक नभई शासक बन्ने हुन् । त्यस्ता थुप्रै दृष्टान्तहरु हामीसामु छन् । त्यस्ता पात्रहरु जनताप्रति उत्तरदायी र जवाफदेही हुन सक्दैनन् । सम्बन्धित दल र उम्मेदवारको विचार वा एजेण्डाको बुझाईका आधारमा मतदातामा बनेको धारणा र त्यसबाट प्रयोग हुने विवेकले मात्रै निर्वाचन स्वच्छ हुन्छ भने जनप्रतिनिधिपनि सही चयन हुनसक्छन् । 

निर्वाचनको सन्दर्भमा हुने तमाम बिकृति अन्त्य गर्न जनताको सचेत हस्तक्षेपको खाँचो छ । खासगरी युवा मतदाताहरुको काँधमा आफ्नो परिवार, छरछिमेक र समाजलाई त्यसतर्फ डोर्याउने जिम्मेवारी आएको छ । 

संसदीय लोकतन्त्रको आधारभुत मुल्य र मर्म बचाउन राज्य प्रशासन, राजनीतिक दल र मतदाता स्वयं गम्भिर बन्नुपर्ने बेला आएको छ । यो संसदीय निर्वाचनलाई पनि अमुक दल र ब्यक्ति भन्दापनि विवेक र विचारको जितमा परिणत गर्न जरुरी देखिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update