१६ माघ, दोलखा । दोलखा बैतेश्वर गाउँपालिका ८ स्थित क्षेत्रावती माविका लागि स्थानीय समाजसेवीहरुबाट ६ लाख भन्दा बढी सहयोग जुट्ने भएको छ । विद्यालयको ५३ औं वार्षिक उत्सव तथा २३ औं अभिभावक दिवसको अवसरमा २ लाख ४२ हजार ५ सय ७५ नगद सहयोग प्राप्त हुनुका साथै ६ लााख बराबरको शैक्षिक अक्षयकोष स्थापना गर्ने घोषणा भएको हो ।
स्थानिय अगुवा ताराकुमार खड्का र विव्यस सदस्य समेत रहेकी उनकी धर्मपत्नी लक्ष्मी खड्काले नगद १ लाख २१ हजार रुपैयाँ प्रदान गर्दै छिट्टै ५ लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरे । यसैगरी स्थानीय अगुवा तक्त बहादुर जिरेलले पनि विद्यालयमा आफन्तजनको नाममा १ लाख बराबरको अक्षय कोष स्थापनाको घोषणा गरेका छन् ।
सोही अवसरमा जिल्ला समन्वय समिति सदस्य बिदुर शर्मा बाट ५१ हजार र खुस बहादुर बस्नेतको तर्फबाट ३० हजार आर्थिक सहयोग पनि विद्यालयलाई हस्तान्तरण गरियो ।
कार्यक्रममा स्थानीय अगुवा तथा व्यवसायी पुष्कर अधिकारी, भरतकुमार श्रेष्ठ र शान्तवहादुर जिरेलबाट स्वर्गीय कृष्णबहादुर सार्कीका ३ जना असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गरिएको छ । बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै उनीहरुले बर्ष भरिको पठनपाठन खर्च स्वरुप विद्यालयलाइ २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।
विव्यस अध्यक्ष रामबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रदेश सदस्य माननीय बिशाल खड्काले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यालयको थप शैक्षिक उन्नयनका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबू श्रेष्ठ, जिल्ला समन्वय समिति दोलखाका सदस्य बिदुर शर्मा, पत्रकार लक्ष्मण खड्का, वडा अध्यक्ष रमेशकुमार अधिकारी, ताराकुमार खड्का, तक्त जिरेल, शिक्षक अभिभावक सङ्घका अध्यक्ष तथा व्यवासायी पुष्कर अधिकारी, हनुमन्तेस्वर माविका सहायक प्रअ सिताराम दहाल, धर्मशाला माविका प्रअ डम्बर खड्का र जनसचेतन साकोसका प्रवन्धक नवराज दहालले शुभकामना मन्तव्य दिए ।