चरिकोट – एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका एमालेका वालकृष्ण शिवाकोटी र गठबन्धनका गंगा कार्की ‘विश्व’ दुबै जना नयाँ अनुहार हुन् । उनीहरुबीचको प्रतिस्पर्धा जिल्लाबासीको ठुलो चासोको विषय छ ।
गत स्थानीय तह निर्वाचनमा जिल्लामा वडाध्यक्षका उम्मेदवारले पाएको मतका हिसाबमा सत्ता गठबन्धन र एमालेको मतान्तर धेरै ठुलो छैन । पहिलो पटक चुनावी मैदानमा उत्रिएका दुुबैजना जित्नुपर्ने दबाबमा छन् । दुबैजना अनटेष्टेड नेता आमनेसामने भएका कारण प्रतिस्पर्धा निकै कडा हुने जिल्लाबासीको अनुमान छ ।
दोलखामा गत स्थानीय तह निर्वाचनमा दोलखाका ९ स्थानीय तहमध्ये नेपाली कांग्रेस र माओवादीले समान ३ वटा पालिका प्रमुख जितेका छन् । एमालेले २ तथा एकीकृत समाजवादीले १ स्थानीय तहको नेतृत्व जितेका छन् । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा दोलखामा नेकपा एमाले अगाडी देखिन्छ । एमालेको मत ३९ हजार ५० रहेको भने कांग्रेसको ३३ हजार ४३९ मत छ । माओवादी केन्द्रको मत १७ हजार ३७५ हजार छ भने एकिकृत समाजवादीले ३ हजार १५१ मत पाएको छ ।
कार्कीले जितका लागि माओवादीको मत सुरक्षित राख्दै कांग्रेसको लगभग सबै मत हँसिया–हतौडा चिह्नमा खसाउनुपर्नेछ । शिवाकोटीले भने एमालेको मत जोगाएर केही हजार मत तान्न सके संसद्मा छिर्न सक्छन् । शिवाकोटीले चुनावी प्रचार अभियानका क्रममा आफु एमालेको मात्रै नभएर अन्य राजनीतिक दलको समेत साझा उम्मेदवार रहेको दाबी गरिरहेका छन् । प्रतिनिधिसभातर्फ कांग्रेस र एकिकृत समाजवादीको उम्मेदवार नभएका कारण गठबन्धनको ठुलो मत आफुले प्राप्त गर्ने उनको विस्वास छ । उनको अपेक्षालाई बल पुग्नेगरी यसबीचमा कांग्रेसको बिभिन्न वडा कमिटीहरु एमालेमा समाहित भैसकेका छन् ।
‘कांग्रेस निकट मतदाताहरुको मत तान्ने कोसिस गर्दै शिवाकोटी भन्छन्, ‘संघमा तपाईहरुको उम्मेदवारनै छैन, त्यसैले तँपाईहरुको बास्तविक उम्मेदवारको रुपमा मैले प्रतिनिधित्व गर्छु, द्धन्द्धकालमा पाएको हिंसा र पिडाले पनि माओवादी उम्मेदवारलाई भोट दिन तँपाईहरुको मन मान्दैन भन्ने मैले बुझेको छु ।’
अर्कातिर कार्कीलाई संसदीय राजनीतिका लागि कतिपयले कमजोर उम्मेदवारका रुपमा व्याख्या गर्छन् । माओवादी शान्तिप्रक्रियामा आएपछि उनी पहिलो पटक संसदमा प्रवेश गर्न खोज्दैछन् । माओवादी बृत्तको एउटा खेमाले उनलाई निष्कलंक र निष्ठाको राजनीति गर्ने नेताको रुपमा प्रस्तुत गर्ने गर्दछन् । जसका कारण उनलाई जनताको सहानुभुति रहेको माओवादी नेताहरुको विश्लेषण छ ।
४० वर्षदेखि राजनीतिमा संगठित शिवाकोटी एमाले अध्यक्ष ओलीसँग पारिवारिक सम्बन्ध रहेको बताईन्छ । उनी व्यवसायिक क्षेत्रमा राम्रै साम्राज्य स्थापित गर्न सफल छन् । अर्का उम्मेदवार कार्की पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निकट मानिन्छन् ।
चुनाव प्रचारका क्रममा उनीहरुले एकअर्कालाई छेडछाड गर्दै आएका छन् । कार्की हिंसात्मक राजनीतिको पृष्ठभूमीबाट आएका कारण उनलाई जिताएर जनताले गल्ती गर्न नहुने शिवाकोटी बताउँछन् भने कार्कीले शिवाकोटीलाई व्यवसायीको रुपमा चित्रण गर्दै आफुसँग प्रतिस्पर्धा नहुने तर्क गर्छन् ।
गत निर्वाचनमा प्राप्त गरेको मतको रक्षा गर्दै केही हजार मत थप्न सके एमाले उम्मेदवारले जित हात पार्न सक्छन् ।
दोलखामा पछिल्लो अद्यावधिक नामावली अनुसार मतदाता संख्या १ नम्बर क्षेत्र (क) तर्फ ८११३८ र २ नम्बर क्षेत्र (ख) तर्फ ८०३१७ गरी जम्मा १,६१४५५ रहेको छ ।