काठमाण्डौं — युक्रेन युद्धको क्षतिपूर्ति तिर्नुपर्ने अन्तर्राष्ट्रिय समुदायको माग रुसले अस्वीकार गरेको छ । राष्ट्रसंघीय महासभाले मंगलबार एक प्रस्ताव पारित गर्दै आफ्ना गलत कदमको परिणाम रुसले सामना गर्नुपर्ने र युद्धको क्षतिपूर्ति दिनुपर्ने जनाएको थियो । सांकेतिक रूपमा महत्त्वपूर्ण अर्थ राख्ने राष्ट्रसंघीय प्रस्ताव बाध्यकारी भने हुँदैन ।
उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । त्यसयता रुसी आक्रमणका कारण हजारौं युक्रेनी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् भने अर्बौं डलर बराबरको भौतिक संरचना ध्वस्त भएको जनाइएको छ ।
युक्रेनी राष्ट्रपति कार्यालय क्रेमलिनले भने अन्तर्राष्ट्रिय समुदायको मागप्रति कडा प्रतिक्रिया जनाएको छ । युद्धको क्षतिपूर्ति तिराउनका लागि षड्यन्त्रपूर्वक रूपमा विदेशमा रहेको रुसी सम्पत्ति कब्जा गरिएको जनाउँदै त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ‘पश्चिमा विश्वले लुटलाई औपचारिकता दिएको’ आरोप लगाएका छन् । त्यस्तो कदममा व्यक्तिगत सम्पत्ति र अन्तर्राष्ट्रिय कानुनविपरीत भएको उनको भनाइ छ । बीबीसीका अनुसार राष्ट्रसंघद्वारा पारित प्रस्तावमा ‘रुसले अन्तर्राष्ट्रिय रूपमा गरेका गलत कार्य तथा त्यसका कारण भएको क्षतिप्रति कानुनी परिणामको सामना गर्नुपर्ने’ उल्लेख छ । त्यसका लागि सदस्य राष्ट्रहरूले युक्रेनसँगको समन्वयमा प्रमाणहरू संकलन गरी दाबी गर्नसमेत सुझाव दिइएको छ ।