चरिकोट – आसन्न निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले दोलखाले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सदरमुकाम चरिकोटमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी एमालेले विगतको उपलव्धीसहित आगामी पाँच वर्षमा गर्ने योजना समेटिएको प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । घोषणा पत्र लेखन समितिका संयोजक एवं एमाले केन्द्रीय सदस्य रचना खड्काले डिजिटल फर्म्याटमा प्रतिवद्धता पत्र सार्वजनिक गरिन् ।
एमाले जिल्ला कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा पोलिट व्युरो सदस्य आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ, सरस्वती बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
दोलखाका जलविद्युत आयोजनाहरुमा जिल्लाबासीको अग्राधिकार
एमाले दोलखाले जिल्लाबासीको अग्राधिकार सुनिश्चित हुनेगरी जलविद्यूत विकासको नयाँ अवधारणा अघि सारेको छ । दोलखाको पानी दोलखालीकै लगानी भन्ने अबधारणा अघि सार्दै एमालेले शेयर लगानीमा जिल्लाबासीको अग्राधिकार सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको हो । सदरमुकाम चरिकोटमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा ७५० मेगावाट क्षमताको तामाकोशी तेस्रो जलविद्युत आयोजनाको निर्माणका लागि लगानीको सुनिश्चिततासहित राष्टिय गौरबको आयोजनाको रुपमा अघि बढाउने लक्ष्य राखिएको छ ।
यस्तै प्रतिवद्धता पत्रमा जलविद्युत आयोजनाहरुको प्रसारण लाईनबाट प्रभावित जिल्लाबासीको लागि उचित क्षतिपुर्ति तथा सहुलियत उपलव्ध गराउने उल्लेख छ । जलविद्युत प्रवद्र्धक नीजि कम्पनीहरुले आयोजना निर्माण गर्दा सामाजिक प्रभाव न्युनिकरण अन्तर्गत खर्च गर्नुपर्ने रकमलाई समेत प्रभावकारी परिचालन गराई प्रभावित समुदायका लागि पूर्ण लाभ प्रदान गर्ने प्रतिवद्धता जनाईएको छ । प्रतिवद्धता पत्रमा आगामी पाँच वर्षभित्र जिल्लाका सबै घरधुरीमा विद्युतीय चुल्होको पहुँच पुर्याउने नयाँ योजना पनि समेटिएको छ ।
लामाबगरलाई त्रिदेशीय व्यापारिक केन्द्रको रुपमा विकास गरिने
नेकपा एमालेले आगामी पाँच वर्षमा दोलखाको लामाबगरलाई चीन, भारत र नेपालको त्रिदेशीय ब्यापारिक केन्द्रको रुपमा विकास गर्ने प्रस्ताव गरेको छ । एमालेले मंगलवार सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा चीन र भारत जोड्ने उत्तर दक्षिण लोकमार्गको लामाबगर फलाक खण्ड निर्माण सम्पन्न गरी लामाबगरलाई त्रिदेशीय व्यापारिक केन्द्र बनाउने जनाईएको छ । उक्त लोकमार्ग चीन र भारत जोड्ने नेपालकै छोटो दुरीको प्रस्तावित लोकमार्ग हो ।
एक पालिका एक पक्की सडक मार्फत ग्रामिण क्षेत्रलाई पक्की सडकहरुसँग जोड्दै लाने, पालिकाले पहिचान गरेका रणनीतिक सडकहरुको स्तरोन्नती गर्ने, सबै सेवा क्षेत्रलाई उच्च गतिको ईन्टरनेट सेवा मार्फत सहज बनाउने एमालेको प्रतिवद्धता छ ।
यसैगरी स्मार्ट दोलखा बनाउने अभियानलाई प्रभावकारी रुपमा संचालन र विस्तार गर्ने, सावर्वजनिक सेवालाई डिजिटाईजेसन गरी अनलाईन सेवा प्रदान गर्ने, फिल्म सिटी निर्माण अघि बढाउने, प्रत्येक पालिका खेल रंगशाला निर्माण गर्ने विषय प्रतिवद्धता पत्रले समेटेको छ ।
दोलखामा हिमालयन युनिभर्सिटी स्थापना गर्ने परिकल्पना
नेकपा एमालेले दोलखामा सेन्ट्रल हिमालयन युनिभर्सिटीको स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । जिल्लाको पुरानो गौरीशंकर क्याम्पसलाई केन्द्र मानेर मध्यपहाडी जिल्लाका सामुदायिक कलेजहरुलाई विश्वविद्यालयको छातामुनि ल्याउने एमालेको योजना छ । आसन्न चुनावलाई लक्षित गरी सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा एमालेले पहिलो पटक दोलखामा विश्वविद्यालय स्थापना गर्ने योजना अघि सारेको हो ।
जिल्लाका प्राविधिक विषय अध्यापन क्याम्पसहरुको सहकार्यमा व्यवसायिक सिप अभ्यास, विद्यालय शिक्षालाई गुणस्तरिय बनाउन अन्तराष्ट्रिय क्षेत्रका उत्कृष्ट विद्यालयहरुसँग भाईचार सम्बन्ध स्थापित गर्ने प्रतिवद्धता पत्रमा भनिएको छ । यस्तै जिल्लाका प्रमुख शहरहरुमा अन्तराष्टिय मापदण्डका आवासीय अंग्रेजी विद्यालय स्थापना गर्न पहल गर्ने, सामुदायिक विद्यालयका गरिब, जेहेन्दारको लागि डाक्टर, ईन्जिनियर, नर्स लगायतको लागि छात्रबृत्ति कोष स्थापना गर्ने, पालिकाका प्रत्येक कलेजहरुमा व्यवसायिक शिक्षा अभियान सुरु गर्ने एमाले प्रतिवद्धता छ ।
दोलखा अर्गानिकएक्स बनाउने घोषणा
नेकपा एमाले दोलखाले जिल्लामा उत्पादित कृषिजन्य बस्तुलाई ब्राण्डेड बनाउने योजना ल्याएको छ । एमाले प्रतिवद्धता पत्रमा जिल्लाको अर्गानिक खेतीलाई अघि बढाउन र देशभर बजार सिर्जना गर्न दोलखा अर्गानिकएक्स ब्राण्ड बनाउने लक्ष्य राखिएको छ । जसका लागि जिल्लाको अर्गानिक उत्पादनको लागि बिक्रि केन्द्रहरु निर्माण गर्ने, प्रत्येक पालिकामा कृषि पर्यटक गन्तव्यका साथै अन्य मुख्य लोकमार्गहरुमा बजार स्थापना गर्दै कृषि उपज बृद्धि र बजारीकरणका लागि आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ, प्रतिवद्धता पत्रमा भनिएको छ ।
प्रत्येक स्थानीय तहमा प्राविधिक सहित भेटेरिनरी भ्यानको व्यवस्था गर्ने, जिल्लालाई किवी, चिज र आलुको तीन वटा उत्कृष्ट केन्द्र निर्माण गर्ने, बहुदेश्शीय शीत भण्डार, चिस्यान तथा प्रशोधन तथा बिक्री केन्द्र स्थापना गर्ने एमालेले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा भनिएको छ । कृषि उपज खरिद ग्यारेन्टीको लागि आवश्यक पहल गर्ने भनिएको छ ।
यसैगरी जिल्लाको उच्च हिमाली÷पहाडी भेगलाई चौरी, भेडा र च्याङ्ग्रा जोनको रुपमा विकास गर्ने प्रस्ताव पनि एमालेले अघि सारेको छ । प्रतिवद्धता पत्रमा कृषि उपजलाई मौसमजन्य विपदबाट जोगाउन १०० वटा मौसम भविष्यवाणी केन्द्रको स्थापना गर्ने भनिएको छ ।
जिरी, मैनापोखरी, यलुङ र गर्जाङ क्षेत्रमा रहेका पुराना पशु विकास फार्महरुलाई कृषि तथा पशु विकास अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने योजना पनि समावेश गरिएको छ ।
दोलखाको उद्योग, खानी र खनिज संचालनमा ल्याउने प्रतिवद्धता
नेकपा एमालेले दोलखा जिल्ला स्थित उद्योग, खानी र खनिज पदार्थलाई संचालन र प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएको छ । आसन्न निर्वाचनको संघारमा प्रतिवद्धता सार्वजनिक गर्दै एमाले दोलखाले पब्लिक कम्पनीको रुपमा विकास गरी खरिढुंगा स्थित ओरियन्ट म्याग्नेसाईटलाई सहकारी र जिल्लाबासीको लगानीमा प्रभावकारी रुपमा संचालन गर्ने प्रतिवद्धता जनाएको छ ।
प्रतिवद्धता पत्रका अनुसार त्यसबाट पाँच सय जनालाई रोजगारीको अवसर सिर्जना हुनेछ । तामाकोशी गाउँपालिकामा रहेको खरिढुंगा खानी, विगु गाउँपालिका स्थित ढुंगा खानीलाई प्रभावकारी संचालन र व्यवस्थापन गर्ने, एक पालिका एक उद्योगग्राम, एक गाउँ एक उत्पादनको लागि नीतिगत व्यवस्थापन गर्ने प्रतिवद्धता पनि एमालेले जनाएको छ ।
दोलखालाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन यस्तो छ, योजना
नेकपा एमालेले दोलखालाई मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना सार्वजनिक गरेको छ । चुनावी प्रतिवद्धता पत्र मार्फत एमालेले जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउने योजना अघि सारेको हो । जसका लागि कालिञ्चोक क्षेत्रमा पर्यटकीय पूर्वाधार र पहुँच, सडक स्तरोन्नती, शैलुङ क्षेत्रको गुरुयोजनासहित पूर्वाधार विस्तार, विगु र लप्ची गुम्बाको महत्वको व्यवस्थित प्रचार, जिरी क्षेत्रमा पर्यटकीय पूर्वाधार विस्तार गर्ने घोषणा गरिएको छ । मुख्य गन्तव्यहरुलाई समेटेर कालिञ्चोक–शैलुङ, भीमेश्वर–जिरी, एकीकृत सर्किट र अन्य रमणीय स्थलहरुलाई ईको–टुरिज्म हटस्पटको रुपमा विकास गर्ने प्रतिवद्धता पत्रको परिकल्पना छ ।
पर्यटन प्रवद्र्धनका लागि जिरी ताल निर्माण गर्ने, तामाकोसीमा व्यवसायिक र्याफ्टिङ, जिरी क्षेत्रमा प्याराग्लाईडिङ लगायतका साहसिक पर्यटनको विकास गर्न विशेष पहल गर्ने जनाईएको छ । प्रतिवद्धता पत्रमा जिल्लाका अल्पसंख्यक जनजाति र दलित बस्तीहरुमा होमस्टे संचालन गर्दै व्यवसायिक कृषि क्षेत्रमा फार्म स्टेलाई प्रोत्साहन गर्ने जैविक विविधताको संरक्षण गर्ने उल्लेख छ ।