Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘कोरोनाको डर छैन, वाली भित्र्याउन पाईएन’

कालिञ्चोक – कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण सर्बत्र त्रास छ । लाखौको ज्यान लिईसकेको कारोना रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन (बन्दावन्दी) जारी राख्दै घरबाहिर ननिस्कन र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

गाउँमा खेतीपाती र मेलापातमा जाँदा कृषकहरुबीच कोराना भाईरसबारे निकै चर्चा पनि हुने गर्छ । तर ग्रामिण भेगका सर्बसाधरणलाई कोरोनाको खासै प्रवाह छैन । कोरोनाले विश्वब्यापी रुपमा पुर्याएको मानवीय क्षेति र लकडाउनबारे संचारमाध्यमबाट जानकारी पाईरहेपनि कृषकहरु दैनिक काममा व्यस्त छन् ।

गहुँबारीमा भेटिएकी कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ की किसान अमृता कार्कीले गाउँको स्वच्छ वातावरणमा सँधै खेतीपाती गरेर खानेलाई कोरोनाको केही डर नभएको बताईन् ।

कोरोना भाईरस भन्दा मौसमले साथ नदिएको प्रति किसानलाई चिन्ता छ । निरन्तर वर्षा भएपछि उनीहरुलाई गहुँबाली कसरी भित्र्याउने भन्ने पिरलो छ । विहान मौसम खुल्ने आसमा खेताला भनिएपनि दिउँसो पानी परेपछि मेला त्यत्तिकै बीचमा छोड्नुपर्ने बाध्यता छ ।
कोरोनाको त खासै वास्ता लाग्दैन तर वैशाखे झरीले पो गर्नुगर्यो, न गहुँ राम्रोसँग पाक्न दियो, न टिप्न नै, सामाजिक कार्यकर्ता समेत रहेकी पविना कार्कीले भनिन् ।

वर्षा नरोकिएपछि कृषकहरुले हरियोमै गहुँबाली टिप्न सुरु गरेका छन् । वर्षाका कारण नलसहित काटेर घरमै गहुँ टिप्न थालिएको छ । समयमै वाली भित्र्याउन नपाए के खाने भन्ने चिन्ताले किसानहरुलाई सताएको छ । “कोरोना लागेर त, मरिएला नमरिएला तर मौसम यस्तै भयो भने भोकमरीले पो मरिन्छ की क्या हो, अर्की कृषक विमला थामीले चिन्ता व्यक्त गर्दै भनिन् ।”

मुख्य जिविकोपार्जनको स्रोत कृषि भएका कारण खेतबारीको काममा ननिस्किए भोकमरी लाग्नसक्ने कृषकहरुले देखेका छन् । जसका कारण उनीहरुका लागि कोरोना भन्दा खेतीपाती ठुलो चिन्ताको विषय बनेको छ । “कोरोना लाग्छ भनेर खेतीपातीको काम छाडियो भने भोली के खाने ? सरकारलाई कोरोनाको सूचना दिँदै ठिक छ, हाम्रो समस्या कसले बुझ्ने ? कृषक छत्र कार्की प्रश्न गर्छन ।”

किसानलाई कोरोनाको डर भन्दा पनि पाकेको गहुँ बाली कसरी चाडो घरमा भित्र्याउने भन्ने चिन्ता बढेको स्थानीय स्थानीय शिक्षक बल बहादुर थामीले बताए । “कोरोनाका डर शहर बजारमा होला गाउँमा केही छैन उनले भने, गहुँ बाली कसरी घर भित्रयाउने भन्ने चिन्ता किसानमा बढेको छ ।”

बिगतका वर्षहरुमा चैत महिनाको दोस्रो सातामै गहुँ काटेर सकिदै आएपनि यो वर्ष लागातारको वर्षातका कारण ढिलो भएको कृषकहरुको भनाई छ । स्थानीय जनप्रतिनिधिहरु कोरोना जोखिमबारे आवश्यक सावधानी अपनाउन आग्रह गरिएपनि गाउँमा त्यसको पुर्ण कार्यान्वयन सम्भव नभएको बताउँछन् ।

 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update