चरिकोट – नेकपा एमालेका नेताहरुले दोलखामा निर्वाचनको सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । सदरमुकाम चरिकोटमा आयोजना गरिएको कार्यक्रममा एमालेका तर्फबाट निर्वाचनको नेतृत्व सम्हालेका नेताहरुले गठबन्धनबाट आचारसंहिता उल्लंघन भैरहेको र सुरक्षामा समेत खलल पुग्ने गतिविधि भैरहेको भन्दै जिम्मेवार निकायले त्यसलाई रोक्न नसकेको बताएका हुन् ।
निर्वाचन प्रचार अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहेका एमाले पोलिट व्युरो सदस्य पार्वत गुरुङ आचारसंहिता र कुनै नीति, बिधि नमानेर गठबन्धन छाडा बनेको बताए । ‘एमालेले नीति, बिधि र पद्धतीको रक्षा गर्छ, त्यसैले निर्वाचन अचारसंहिताको पूर्ण पालना गर्छ, ‘सत्तामै बसेर गठबन्धनले नीति, बिधि र अचारसंहिताको धज्जी उडाईरहेको छ, छाडा बनेको छ, उनले भने ।’
गठबन्धन आफै सरकारमा बसेर आचारसंहिता बिरुद्ध लाग्नुले निर्वाचन सुरक्षामा समेत प्रश्न उठेको भन्दै गुरुङले गलत हर्कत गरेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिए ।
यसैगरी एमाले पोलिट व्युरो सदस्य आनन्द प्रसाद पोखरेलले राज्यका निकायले निष्पक्ष र शान्तिपुर्ण निर्वाचन बिरुद्ध हुने कुनैपनि हर्कत रोक्नुपर्नेमा जोड दिए । ‘एमाले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण चुनावको पक्षमा छ, अन्य दलहरुपनि त्यसका लागि तयार होउन्, यदि निर्वाचनलाई धाँधलीपूर्ण बनाउन खोजियो भने स्थानीय प्रशासनले त्यसलाई रोक्नुपर्छ, उनले भने ।’
सत्तारुढ गठबन्धनले निर्वाचन प्रभावित गर्नेगरी आचारसंहिता बिपरित जनप्रतिनिधिहरुलाई आफ्नो कार्यक्षेत्रमा चुनाव परिचालनको जिम्मेवारी दिएको, तोकिएको मिति अगावै अचारसंहिताको उल्लंघन गर्दै भड्किलो प्रचार गरेको समाचार आईरहेका बेला एमाले नेताहरुले पनि त्यसप्रति आपत्ती जनाएका हुन् ।