चरिकोट - आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले दोलखाले आजदेखि प्रचारप्रसार अभियान सुरू गरेको छ । निर्वाचन आचारसंहितालाई मध्येनजर गर्दै एमालेले सदरमुकाम चरिकोटमा आज एक कार्यक्रमको आयोजना गरी चुनावी प्रचार अभियानको औपचारिक घोषणा गरेको हो ।
निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि निर्वाचनको प्रचार प्रसार गर्न पाउनेगरी आचारसंहिता लागु गरेको थियो । निर्वाचन सम्बन्धी गीत नृत्यु, जिंगल, घोषणापत्र लगायतका सामग्री सार्वजनिक गर्दै निर्वाचन प्रचार अभियानको सुरुवात गरिएको हो ।
एमाले पोलिट व्युरो सदस्य आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ, ईश्वरी रिजाल लगायत जिल्लाका शिर्ष नेताहरुको उपस्थितिमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार वालकृष्ण शिवाकोटी, प्रदेशसभा १ का उम्मेदवार नरबहादुर श्रेष्ठ र प्रदेशसभा २ नम्बर क्षेत्रका उम्मेदवार भरत केसीले प्रचार अभियानको संयुक्त रुपमा सुरुवात गरे ।
एमाले प्रचार विभागका तर्फबाट अभियानको सुरुवात गरिएको हो । विभागले सार्वजनिक गरेको चुनावी गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्ने जनाएको छ । चुनाव प्रचार अभियानका क्रममा कलाकार, संचारकर्मी, सोसल मिडियाकर्मी एकैसाथ परिचालित हुने प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धरले जानकारी दिए । त्यसका लागि बिहिवार प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरिएको थियो ।