चरिकोट – दोलखामा सत्तारुढ गठबन्धन निकट युवा संगठनहरुले वाम लोकतान्त्रिक गठबन्धनप्रति प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् । बिहिवार संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा संविधान रक्षाको लागि गठबन्धन गर्नुपरेको भन्दै यसप्रति प्रतिवद्ध रहेको जनाएका हुन् ।
निर्वाचन नजिकिँदै गर्दा गठबन्धनका युवाहरु निष्क्रिय रहेको चर्चाकाबीच कांग्रेस निकट नेपाल तरुण दल, माओवादी केन्द्र निकट वाईसियल र एकिकृत समाजवादी निकट युवा संघ नेपाल समाजवादीले संयुक्त विज्ञप्ती जारी गरेर गठबन्धनलाई धोका नदिने प्रतिवद्धता जनाएका हुन् । निर्वाचन प्रभावित पार्ने गतिविधि रोक्न एकिकृत भएर लाग्न पनि विज्ञप्तीमा गठबन्धन सम्बद्ध युवाहरुलाई आग्रह गरिएको छ ।
जारी विज्ञप्तीमा तरुण दलका अध्यक्ष चित्रकुमार तामाङ, वाईसियलका छिरिङ थोकर र युवा संघ समाजवादीका रामहरी शिवाकोटीले हस्ताक्षर गरेका छन् ।