काठमाडौँ - नेपाल आयल निगम करौडौं नाफामा गएपनि सरकारले ईन्धनको मुल्य नघटाउने भएको छ । भारतबाट पछिल्लो समय इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगम आगामी पाक्षिक अवधि (१५ दिन) मा १८ करोड नाफा रहनेछ । निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले दुई दिनअघि इन्धनको मूल्य बढाएर सूची पठाएको छ ।
जसअनुसार पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजेल ५ रुपैयाँ ७६ पैसा, मट्टितेल ७ रुपैयाँ १ पैसा र हवाई इन्धन ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा नोक्सान हुने भएको छ । पेट्रोल, हवाई इन्धन र मट्टितेलमा नाफा रहेकाले समग्रमा निगमलाई पाक्षिक १८ करोड नाफा रहने भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा देखिएको, डलरसँग नेपाली मुद्रा कमजोर भएकाले हाललाई इन्धनको मूल्य घटाउन नसकिने निगमले स्पष्ट पारेको छ । हाल पेट्रोल प्रतिलिटर १८१ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७८ रुपैयाँ तोकिएको छ । सरकार र भारतीय आयल कर्पोरेसनलाई २९ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको निगमले जनाएको छ ।