Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको गौरीशंकर गाउँपालिकामा कांग्रेसको सिंगो कमिटी एमालेमा विलय

चरिकोट - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दोलखामा गठबन्धन परित्याग गर्ने क्रम सुरु भएको छ । गठबन्धनबाट जिल्लाको एकमात्र प्रतिनिधिसभा तर्फको उम्मेदवारी माओवादीले पाएपछि खासगरी कांग्रेस नेता कार्यकर्ताहरुले पार्टी छाड्न थालेका छन् ।

सदरमुकाम चरिकोटमा आज नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकाका पार्टी सचिव अर्जुन ओलीसहित गौरीशंकर ७ मार्बुको सिंगो कमिटी सभापति फुरलाक्पा शेर्पाको नेतृत्वमा एमालेमा बिलय भएको छ । कांग्रेसको वडा कमिटीले गरेको निर्णय अनुसार चरिकोटमा आयोजित एक कार्यक्रमकाबीच पालिका सचिव, वडा सभापतिसहित पदाधिकारी तथा सदस्यहरुको सिंगो टिम एमाले प्रवेश गरेको हो ।

प्रवेश गर्नेहरुमा कांग्रेसका गौरीशंकर गाउँपालिका सचिव ओली र वडा सभापति शेर्पासहित उपसभापति ज्ञान बहादुर गुरुङ, सचिव सुदिप गुरुङ, सहसचिव फुटे शेर्पा, तरुण दलका अध्यक्ष छिरिंग शेर्पा, भविन्द्र गुरुङ, टपिन्द्र गुरुङ, टिका गुरुङ लगायत रहेका छन् ।

उनीहरुलाई पुर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङ, जिल्ला इञ्चार्ज एवं केन्द्रीय सदस्य सरस्वती बस्नेत, केन्द्रीय सदस्य रचना खडका, प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी, जिल्ला अध्यक्ष प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार नरबहादुर श्रेष्ठसहितका नेताहरुले पार्टीमा स्वागत गरे । निर्वाचन प्रचार प्रसारको कार्यक्रम सुरु भएको पहिलो दिन उनीहरु एमाले प्रवेश गरेका हुन् ।

कार्यक्रममा मन्तव्य राख्दै सभापति शेर्पाले जिल्लादेखि देशको विकास र समृद्धिको लागि एमालेले अघि सारेको दृष्टिकोणबाट प्रभावित भएर आफुहरु एमाले प्रवेश गरेको बताए । कांग्रेसका अन्य नेता कार्यकर्ताहरुसँग पनि एमाले प्रवेशको तयारीमा रहेको जानकारी उनले दिए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update