जिरी – नेकपा एमालेका तर्फबाट दोलखा निर्वाचन क्षेत्र नम्बर १ उम्मेदवार नरबहादुर श्रेष्ठले पर्यटकीय नगरी जिरीको विकासको सन्दर्भमा आफ्नो योजना प्रस्तुत गरेका छन् । जिरी नगरपालिकाका मतदाताहरुसँगको भेटघाटका क्रममा उम्मेदवार श्रेष्ठले जिरीलाई पर्यटन विकासको माध्यमबाट साँचो अर्थमा स्वीट्जरल्याण्डको स्तरमा पुर्याउन सकिने बताए । जिरीलाई पर्यटकीय हबका रूपमा विकास गर्न एमालेकै नेतृत्वमा आवश्यक पूर्वाधार विकासको काम अगाडि बढिरहेको र बाँकी कामको स्पष्ट खाका आफुसँग रहेको भन्दै विजय गराउन उनले मतदाताहरुलाई आग्रह गरे ।
त्यसका लागि आफ्नो कार्यकालमा जिरी विमानस्थल सुचारु गर्न गर्न ठोस पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए । ‘कृषि फार्मको नाममा नापी भएको जग्गालाई एयरपोर्टका लागि ल्याउने प्रण गरौँ, हाम्रो पार्टी नेकपा एमाले सरकारमा हुँदा होस् वा नहुँदा होस्, मैले सांसद जितुँ वा नजितुँ जिरी एयरपोर्ट सूचारु गर्न सक्दो सहयोग गर्नेछु, श्रष्ठले भने ।’
पर्यटकीय नगरी जिरीको विकास र समृद्धिका लागि ‘ग्रीन, क्लिन र अर्ग्यानिक जिरी’ अभियानलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए ।
‘जिरीको पहिलो मेयर टंकबहादुर जिरेलले जिरी नगरको विकासका लागि कोरेको खाकालाई अहिलेको स्थानीय सरकारले निरन्तरता दिनुपर्छ, उनले भने, हामी संघ र प्रदेश सभामा निर्वाचित भइसकेपछि यसलाई थप समृद्ध बनाउने अभियानमा कुनै कसर बाँकी राख्दैनौं ।’
जिरी टेक्निकल स्कुल (जिरी प्राविधिक शिक्षालय) जिरीको अर्को आकर्षणको थलो रहेको चर्चा गर्दै उनले त्यसलाई पनि शैक्षिक हबका रूपमा विकास गरेर अघि बढ्ने बताए । ‘मैले सांसद जितेपछि देशभरीकै आकर्षणको थलो बनाएर जिरीलाई आर्थिक रूपमा समृद्ध पार्नेगरी कामको नेतृत्व गर्ने प्रण गर्दछु, प्रतिबद्धता व्यक्त गर्दै उनले भने ।’
त्यसैगरी जिरी अस्पतालको सेवाप्रवाहलाई गुणस्तर र प्रभावकारी बनाउने, जंगल र जडिबुटीको समुचित प्रयोग र सदुपयोग गरिने, सामुदायिक विकास, पर्या–पर्यटन, व्यवस्थित बजार र जनजीवीकाका कुरालाई एमालेले विशेष ध्यान दिएर काम गर्दै आएको र आगामी दिनमा त्यसलाई थप उन्नत बनाउँदै जाने उनको भनाई छ ।
जिरीलाई एजुकेशन हब, टुरिजम हब र अर्ग्यानिक हबको रूपमा एकिकृत विकास परियोजनाको रुपमा कार्यान्वयनमा लैजाने योजना श्रेष्ठको छ ।