Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा निर्वाचन आचारसंहिता उल्लंघनको विषयमा जिम्मेवार निकाय बेखबर

चरिकोट – दोलखामा निर्वाचन आचारसंहिता उल्लंघन सुरु भएको विषयमा जिम्मेवार निकाय बेखवर जस्तै देखिएको छ । जिल्लामा राजनीतिक दलहरुले जनप्रतिनिधिहरुलाई आफ्नै कार्यक्षेत्रभित्र पर्नेगरी निर्वाचन परिचालन अभियानमा खटाउने लगायत आचारसंहित बिपरितका गतिविधि भैरहेका छन् ।

खासगरी सत्तारुढ गठबन्धनले कार्यापालिका सदस्य समेत रहेका वडा अध्यक्ष, सदस्यसहित धेरै जनप्रतिनिधिहरुलाई आफ्नै पालिका क्षेत्रभित्र पर्ने गरी जिम्मेवारी दिएको छ । नगर तथा गाउँपालिका प्रमुख एवं उपप्रमुखहरुलाई समेत आफ्नो पालिका अनुकुल हुनेगरी जिम्मेवारी तोकिएको छ । निर्वाचन आचारसंहिता अनुसार उनीहरु आफ्नो पालिका क्षेत्र निर्वाचन प्रचार प्रसारका गतिविधिहरुमा संलग्न हुन पाउँदैनन् ।  

तर उक्त विषयमा आचारसंहिता कार्यान्वयन र अनुगमनको जिम्मेवारी पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको ध्यान जान सकेको छैन । आचारसंहिता कडाईपुर्वक कार्यान्वयन नभए स्थानीय तहको स्रोत, साधन दुरुपयोग हुनसक्ने सरोकारवालाको चिन्ता छ । आमसंचारमाध्यमबाट समाचार सार्वजनिक हुँदा समेत मुख्य निर्वाचन अधिकृतको कार्यालय मौन देखिएको हो । 

जिल्ला निर्वाचन कार्यालय दोलखामा निर्वाचन अनुगमन गर्ने जिम्मेवारी पाएका कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख मुरारी निरौलाले यस बारेमा आफुले जानकारी पाई नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतसँग समन्वय गरी आवाश्यक कदम चाल्ने प्रतिक्रिया दिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update