Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको प्रतिनिधिसभा सदस्यमा युवा उम्मेदवार
दावा शेर्पा, दोलखा प्रतिनिधि सभा सदस्य उम्मेदवार

चरिकोट – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने युवाहरुको संख्या अधिक छ । पुरानो पुस्तालाई चुनौती दिँदै युवा उमेर समुहका नेताहरु चुनावी मैदानमा उत्रिएका हुन् । त्यस्तै मध्येका एक हुन्, जनता समाजवादी पार्टीका युवा नेता दावा शेर्पा ।

उनी आसन्न निर्वाचनमा दोलखाको प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् । शेर्पा जनता समाजवादी पार्टीको तर्फबाट प्रतिधिनिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन् । राजनीतिमा युवा पुस्ताको माग बढिरहेका बेला उनले दोलखाबाट प्रतिनिधित्व गर्ने गरी राजनीतिमा बलियो उपस्थिति जनाउने प्रयास सुरु गरेको बताएका छन् । 

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर १, सुस्पाक्षमावतीको फुलाउने भन्ने स्थानमा २०३५ सालमा उनको जन्म भएको हो । शान्ति प्रक्रिया सुरु भएपछि राजनीतिमा सक्रिय भएका शेर्पाले हल्याण्ड र ईंग्ल्याण्डमा स्नातक तहको अध्ययन गरे । नेपाल फर्किएर उनले स्नातकोत्तर तहको अध्ययन पुरा गरेका छन् । 

उनले अशोक राई नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टी नेपालबाट औपचारिक रुपमा राजनीतिक यात्राको थालनी गरेका हुन् । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपनि उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगका समुदायको अधिकार सम्वोधनमा राज्यले गैरजिम्मेवार हुन थालेपछि आफु राजनीतिमा लागेको उनी बताउँछन् । 
सुरुवातकालमा उनले पार्टीको काठमाण्डौं ३ नम्बर क्षेत्रको नेतृत्व गरे । त्यसपछि उद्योग व्यवसायी महासंघको उपमहासचिव हुँदै महासचिवको जिम्मेवारी सम्हाले । पार्टीको ११ प्रदेशको संरचना र अवधारणा अनुसार उनी अहिले शेर्पालुङ राष्टिय समन्वय समितिको अध्यक्षको जिम्मेवारीमा छन् । 

राजनीतिसँगै उनी बिभिन्न पेशा व्यवसायमा पनि आवद्ध छन् । उनी गलैचा व्यवसायी हुन् । उनले गलैचाको उत्पादनसँगै निर्यात गर्ने गर्छन् । उनले नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघको महासचिवको जिम्मेवारीपनि सम्हालिरहेका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघको एक्स्पर्ट कमिटीको आमन्त्रित सदस्यको भूमिकामा पनि छन् । उनले टुरिजम बिजनेसको पनि सुरुवात गरेका छन् ।  

‘राजनीति गर्ने मान्छे आर्थिक रुपमा सबल र पारदर्शी हुन जरुरी छ, घर ठिक भएन भने उसले राजनीतिमा सही र परिपक्व काम गर्न सक्दैन, मैले राईट टाईममा उम्मेदवारी दिएको छु, निस्वार्थ ढंगले जिल्लाबासीको सेवा गर्ने ईच्छा छ, शेर्पाले भने ।’

उत्पीडित र पिछडिएको वर्ग, समुदाय र क्षेत्रको राज्यमा बलियो उपस्थिति जनाउन आफ्ने उम्मेदवारी रहेको उनले बताए । उनी भन्छन्, ‘नीतिगत सुधार र कार्यान्वयनसँगै जिल्लाको पूर्वाधार विकास र समृद्धिको जग विच्छ्याउने काम गर्नेछु, सँगै राज्यको स्रोत÷साधनलाई समान रुपमा बितरण गरी समतामुलक समाज निर्माणमा भूमिका खेल्न मेरो उम्मेदवारी हो ।’
 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update