काठमाडौं काठमाण्डौंको हात्तीसारमा टुकुचालाई भूमिगत गर्न बनाइएको संरचना (सुरुङ) पुरातात्विक भएको ठहर भएको छ । पुरातत्व विभागले गरेको अध्ययनमा टुकुचाको भूमिगत सुरुङ पुरातात्विक सम्पदा भएको पुष्टि भएसँगै टुकुचा अब भत्काउन नपाईने भएको छ । महानगरले त्यसलाई अब संरक्षण गर्नुपर्ने भएको छ ।
विभागले टुकुचा भूमिगत गर्न बनाइएको सुरुङबारे अध्ययन गर्न पुरातत्वविद् भाष्कर ज्ञवालीको नेतृत्वमा समिति बनाएको थियो । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरकाअनुसार समितिले दिएको प्रतिवेदन विभागलाई प्राप्त भएको छ ।
‘प्रतिवेदनले उक्त संरचनालाई राणाकालमा बनेको ठहर गरेको छ,’ उनले भने, ‘प्रतिवेदनले त्यसलाई संरक्षण गर्न सिफारिस पनि गरेको छ ।’महानगरपालिकाले भूमिगत संरचना खोतल्दै खुला गर्ने गरी डोजर चलाएपछि सम्पदा अभियान्ताको अनुरोधमा पुरातत्व विभागले अध्ययन थालेको थियो । अध्ययन समितिले नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजाम्म टुकुचा भूमिगत रुपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको निष्कर्ष निकालेको छ ।