जिरी – नेपाली कांग्रेसका प्रभावशाली नेता श्याम उप्रेतीले सुर्य चिन्हमा मतदान गरेर एमाले उम्मेदवारलाई सहयोग गर्न बताएका छन् । नेकपा एमाले जिरी नगरकमिटीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेता उप्रेतीले कांग्रेस परित्याग गरी स्वतन्त्र भएको घोषणा समेत गरे ।
गठबन्धनप्रति असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र नागरिक भएर बस्ने तर आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गर्ने बताएका हुनन् । उनी जिल्लाको १ नम्बर क्षेत्रका निकै प्रभावशाली नेता हुन् । आफु अब कांग्रेस छाडेर स्वतन्त्र नागरिक भएपनि एमाले उम्मेदवारलाई जिताउन सूर्य चिन्हमा मतदानका लागि सबैलाई आग्रह गर्ने उनले बताए ।
आफ्नो पार्टीको चुनाव चिन्हमा भोट हाल्न पाउने अधिकारबाट गठबन्धनले मतदातालाई बञ्चित गरेको भन्दै उप्रेतीले एमाले प्रवेश गर्ने संकेत पनि गरे । एमालेले आफ्नो व्यवहार र विचारबाट मन जित्न सके आफु एमाले प्रवेश गर्न तयार रहेको उनको भनाई छ ।