Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा एकिकृत समाजवादी पार्टी छाड्ने क्रम बढ्यो, सिंगो कमिटीनै एमालेमा समाहित

चरिकोट – दोलखामा एकीकृत समाजवादी पार्टी परित्याग गर्ने क्रम बढेको छ । जिल्ला स्तरिय नेताहरुले पार्टी परित्याग गरेको केहिदिन पछि आईतवार पुन सिंगो गाउँ कमिटीले पार्टी परित्याग गरेको घोषणा गरेको छ । केही दिन अघि मात्रै समाजवादीका जिल्ला कमिटि सचिवालय सदस्य केशव शिवाकोटी र समाजवादी शिक्षक संगठनका जिल्ला सचिव केशर थामीले उक्त पार्टी परित्याग गरी एमाले प्रबेश गरेका थिए ।

आईतवार फेरी भीमेश्वर नगरपालिका वडा नम्बर १ को सिंगो कमिटी समाजवादी पार्टी परित्याग गर्दै एमालेमा समाहित भएको हो । नेकपा एमालेको चुनावी अभियानअन्तर्गत आज सुष्पा क्षमावतीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनीहरुले पार्टीको माईन्युट समेत हस्तान्तरण गर्दै एमाले प्रवेश गरे । भवानीप्रसाद थपलिया, वडा कमिटीकी सिर्जना कार्कीसहित कमिटीका पदाधिकारी र सदस्यहरु रहेको ३० सदस्यीय कमिटी एमालेमा समाहित भएको एमाले नेता कृष्ण बस्नेतले जानकारी दिए ।   

दोलखा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार भरतबहादुर केसी, वागमती प्रदेश कमिटी सदस्य डबल पाण्डे, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव टेक घताने लगायतले उनीहरुलाई पार्टीमा स्वागत गरे । एमाले प्रवेश गर्दै उनीहरुले एकिकृत समाजवादी पार्टी गठबन्धनको नाममा मुलुकलाई बर्वादीको दिशामा लैजान उद्धत भएकोले परित्याग गर्नुपरेको बताए ।

उनीहरुले एकिकृत समाजवादी पार्टीको औचित्य सकिएको भन्दै अन्य नेता कार्यकर्तालाई पनि पुरानो घर एमालेमा फर्किन आव्हान गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update