Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जसले व्यवसाय र समाजसेवासँगै राजनीतिमा बितायो झण्डै ४० वर्ष

चरिकोट – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धेरै उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । बिभिन्न पृष्ठभूमि भएका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । दोलखामा पनि त्यस्तै पृष्ठभुमीका धेरैको उम्मेदवारी परेको छ तर मुख्यगरी नेकपा एमाले र सत्तारुढ गठबन्धनका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने देखिन्छ । एमालेका तर्फबाट वालकृष्ण शिवाकोटी र गठबन्धनका तर्फबाट गंगा कार्की ‘विश्व’ चुनावी मैदानमा छन् । 

गठबन्धनले सदरमुकाम चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उम्मेदवार कार्कीले आफु ४३ वर्षदेखि वामपन्थी आन्दोलन र ३४ वर्षदेखि माओवादी आन्दोलनमा सक्रिय रहेको भन्दै अर्का उम्मेदवार शिवाकोटीलाई विशुद्ध व्यवसायीको रुपमा चित्रण गर्न खोजे । तर उनले आरोप लगाएभन्दा शिवाकोटीको राजनीतिक पृष्ठभूमी अलि फरक देखिन्छ । उनी व्यवसायी पनि हुँदा राजनीतिक आवद्धता र योगदानको विषय केही ओझेलमा पार्न खोजिएको निकटस्थहरुको भनाई छ । 

राजनीतिक पृष्ठभूमि बोकेको परिवारमै शिवाकोटीको जन्म भएको थियो । स्वर्गीय विष्णुराज शिवाकोटी र विष्णुमाया शिवाकोटीका जेठा सन्तानको रुपमा उनको जन्म विसं २०२६ साउन २९ मा दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका–८, सुनखानीमा भएको हो । बुबाको राजनीतिक सामाजिक जीवनबाट प्रेरित भएर आफुले विद्यार्थी जीवनदेखिनै राजनीतिमा संलग्न हुने अवसर प्राप्त गरेको शिवाकोटी बताउँछन् । 

क्षमावती माविमा अध्ययनरत रहँदा २०४० मै उनले अनेरास्ववियुको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका थिए । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौंस्थित नेपाल कमर्श क्याम्पस मीनभवन भर्ना भए । त्यहाँ स्नातकसम्मको अध्ययन पूरा गरुन्जेल उनी अनेरास्ववियुको बिभिन्न जिम्मेवारीमा रहेर सक्रिय भए । त्यसपछि शिवाकोटी भूगोलको राजनीतिमा सक्रिय भए । तत्कालीन समयको राजनीतिक बिभाजन अनुसार उनी इलाका नंबर ९ को सचिव हुँदै २०५६ सालमा क्षेत्रीय कमिटीको सचिवको जिम्मेवारीमा रहेर पार्टी राजनीतिमा सक्रियता बढाए । 

एमाले दोलखाको रकर्डलाई पल्टाएर हेर्दा उनी पार्टीको सचिवालय सदस्यमा लगातार १२ वर्ष सक्रिय भएर काम गरेका छन् । उनी २०६५ मा बुटवलमा सम्पन्न नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर चयन भएका थिए । 

नेकपा एमालेको केन्द्रीय उद्योग वाणिज्य विभाग सदस्य हुँदै शिवाकोटी एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रीय उपाध्यक्ष र तथा वाग्मती प्रदेश ईन्चार्जको भूमिकामा छन् । एमालेको दशौं महाधिवेशन र विधान महाधिवेशनको प्रतिनिधि भैसकेका उनी हाल एमालेको  बागमति प्रदेश कमिटीको जिम्मेवारीमा सक्रिय छन् । 

सफल व्यवसायीको छवि

पेशा व्यवसायसँगै राजनीतिमा सक्रिय हुनुपर्ने उनको मान्यता छ । उनी भन्छन्, ‘पेशा व्यवसायमा नजोडिईकन राजनीतिमा लाग्दा भ्रष्टाचारजन्य क्रियाकलाप हुनसक्छन्, बेथिति बढ्नसक्छ, त्यसैले आत्मानिर्भर भएर राजनीतिमा सक्रिय हुँदा राम्रो हुन्छ भन्ने मेरा मान्यता छ ।’ लगानी बोर्ड सदस्यको भूमिकामा रहेका शिवाकोटीको थुप्रै उद्योग व्यवसायमा लगानी छ । मेगा बैंकका संचालक शिवाकोटीले केबलकार, होटेल, मल, ब्रोकर कम्पनी, प्लाईउड कारखानामा लगानी गरेका छन् । उनी आबद्ध दर्जनभन्दा बढी उद्योगहरुमा करिब ४०० भन्दा बढीले रोजगारीको अबसर पाएका छन् । 

नेपाल सरकार लगानी बोर्डको सदस्यमा तीन कार्यकालसम्म रहेका शिवाकोटीले लगानी भित्र्याएर राष्ट्रिय पुँजीको विकासमा योगदान पुर्याउँदै आएका छन् । वैदेशिक लगानी भित्र्याउने, राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानीको मोडालिटीको निर्णय लिने, लगानीमैत्री वाताबरण सिर्जना गर्ने लगायतका क्षेत्रमा महत्वपुर्ण निर्णय प्रक्रियामा उनको पहल रहँदै आएको छ । 

सामाजिक कार्यमा पनि सक्रियता 
व्यवसाय र राजनीतिसँगै शिवाकोटीले थुप्रै सामाजिक संघसंस्थाहरु सामाजिक कार्यहरु गर्दै आएका छन् । उनले मदन भण्डारी फाउण्डेनसनको केन्द्रीय सदस्यसहित धेरै सामाजिक संघ–संस्थाहरुको नेतृत्वदायी जिम्मेवारी सम्हालेका छन् । 
ती संस्थाहरु मार्फत उनले समस्या र अप्ठ्यारोमा परेकाहरुहरुको उद्धार र राहातमा सहयोग पुर्याएका छन् । खासगरी २०७२ सालको भूकम्पको राष्ट्रिय विपतमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वय गरेर भुकम्पको इपिसेन्टर बनेको दोलखा जिल्लाभर ठूलो मात्रामा राहतका कार्यक्रम तथा उद्दार सामग्रीहरु ल्याएर जिल्लाबासीलाई गुन लगाए । 

कोभिड–१९ ले निम्त्याएको संकटका बेला जिल्ला र काठमाण्डौंमा समस्यामा परेकाहरुलाई खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराए । शिवाकोटीले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक उन्नयनको क्षेत्रमा समेत सहयोग पुर्याउँदै आएका छन् । 
पाँच भन्दा बढी विद्यार्थीहरुलाई विद्यालय तथा उच्चतहको शिक्षामा व्यक्तिगत सहयोग तथा छात्रवृत्ति उपलब्ध गराईसकेका छन् ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update