चरिकोट–कालिञ्चोक गाउँपालिकाका पुर्व अध्यक्ष विनकुमार थामीले विगतको घट्नालाई जोडेर नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार र आफु बिरुद्ध भ्रम फैल्याईएको भन्दै आपत्ती जनाएका छन् । केही वर्षअघि आफुमाथि भएको दुव्र्यबहार र आक्रमणको घट्नामा एमाले संघीय उम्मेदवार वालकृष्ण शिवाकोटीलाई जोडेर सामाजिक संजालमा गरिएको प्रचार र केही नेताहरुले दिएको अभिव्यक्तिको खण्डन गर्दै उनले आपत्ती जनाएका हुन् ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै नेकपा एमाले वाग्मती प्रदेश कमिटि सदस्य समेत रहेका उनले निर्वाचनको बेला थामी समुदायलाई भ्रममा पारेर भोटको राजनीति गर्न सामाजिक संजालमा आधारहिन र भ्रमपुर्ण प्रचार गरिएको स्पष्ट पारेका छन् । जारी बिज्ञप्तीमा गठबन्धनका नेताहरुले केही स्थानमा व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्नेगरी दिएको अभिव्यक्ति प्रति समेत आपत्ती जनाउँदै भ्रममा नपर्न आग्रह गरिएको छ ।
केही वर्षअघि कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ मा भएको दुव्र्यबहार र आक्रमणको घट्नामा एमाले उम्मेदवार शिवाकोटीलाई जोडेर प्रचार गरिएपछि पुर्व अध्यक्ष थामीले विज्ञप्ती जारी गरेर स्पष्ट पारेका हुन् । “पुरानो घट्नालाई लिएर भैरहेको प्रचारबाजी प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ, बिभिन्न विषयलाई लिएर प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई लान्छित र आरोपित गरी भैरहेको प्रचारबाजी प्रति खेद व्यक्त गर्दछु, जारी विज्ञप्तीमा भनिएको छ ।”
केहीदिन अघि जिल्लामा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका नेता विशाल खड्काले थामी समुदाय र विनकुमार थामीमाथि दुव्र्यबहार गर्नेहरुलाई भोट मागिरहेको भन्दै बिवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति प्रति ईङ्गित गर्दै उनले आफ्नो नाम भजाएर थामी समुदायप्रति सहानुभुति राखेजस्तो नाटक गरेर अनैतिक, अराजनीतिक गतिविधि गर्न खोजिएको भन्दै निन्दा समेत गरेका छन् ।
थामी समुदायको हकहित र अधिकारको क्षेत्रमा एमालेले धेरै काम गरिरहेको उल्लेख गर्दै उनले एमाले र एमालेका उम्मेदवारहरुलाई मत दिएर विजयी गराउनपनि आग्रह गरेका छन् ।
यस्तो छ, विज्ञप्तीको पूर्णपाठ
बिज्ञप्ती
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि आगामी मंसिर ४ गते दोस्रो पटक प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन गैरहेको छ । लामो समयको त्याग, संघर्ष र वलिदानपछि मुलुकका सबै वर्ग, जातजाती, भाषाभाषी, क्षेत्र, लिंगका समुदायको धेरै अधिकारहरु सम्बोधन गर्दै नयाँ संविधान जारी भएको पनि ७ बर्ष बितिसकेको छ । सबैखाले बर्गीय, जातीय क्षेत्रिय र लैंगिक बिभेद अन्त्य गर्दै सामाजिक न्याय सहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्टिय संकल्प पुरा गर्ने दिशामा मुलुक अघि बढिरहेको छ ।
नेपाल बिभिन्न धर्म, जाति तथा सम्प्रदायहरुको साझा फुलबारी हो । जातिय, क्षेत्रिय, धार्मिक र सांस्कृतिक बिबिधता र यस बिबिधताबीचको एकता, सद्भाव र मेलमिलाप नेपालीहरुको बिशिष्ट पहिचान हो । विगतमा मुलुकको विविधतामा खेलेर जातीय, क्षेत्रीय, धार्मिक एवं साम्प्रदायिक द्धन्द्ध र बिभाजन ल्याउने कोसिस गरिएपनि नेपालीहरुबीचको आपसी सद्भाव, सहिष्णुता, एकता र मेलमिलापलाई कसैले कमजोर बनाउन सकेन । अझैपनि कतै बिभेद, छुवाछुत र असमानताको अवशेषहरु बाँकी रहेका छन् भने त्यसको पनि अन्त्य हुनुपर्दछ ।
यसै पृष्ठभूमिमा मुलुक निर्वाचनमा होमिएको र जनताले मताधिकार प्रयोग गर्ने दिन नजिकिदै गर्दा केही घट्नालाई लिएर बिभिन्न तरिकाले भैरहेको प्रचारबाजीप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ र बिभिन्न बिषयलाई लिएर आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई लान्छित र आरोपित गरी भैरहेको प्रचारबाजी प्रति खेद व्यक्त गर्दछु ।
घट्ना भएको वर्षौंपछि निर्वाचनको सम्मुखमा मेरो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्नेगरी भैरहेको दुष्प्रचार प्रतिशोधपुर्ण, दुरासययुक्त र बदनियतका साथ गरिएको कुरा स्पष्ट पार्न चाहन्छु । मेरो नाम भजाएर समुदायप्रति र तमाम प्रतिसहानुभुति राखेजस्तो नाटक गरेर सोझासिधा जनता र समुदायलाई भ्रमित तुल्याउने र भोटको राजनीति गर्ने अनैतिक, अराजनीतिक गतिविधिको जति निन्दा गरेपनि कम हुन्छ ।
म विगत लामो समयदेखि नेकपा एमालेले अगिंकार गरेको बिचार, सिद्धान्त प्रतिबद्द रहि यो पार्टीमा संगठित र क्रियाशील व्यक्ति हुँ । नेकपा एमालेले आत्मासाथ गरेको जनताको बहुदलीय जनबादको सिद्धान्तको प्रयोगबाटै आम नेपाली र उत्पीडित वर्ग, जात, क्षेत्र र लिंगका समुदाय अधिकार सम्पन्न हुनसक्छन् भन्ने मेरो दृढ विस्वास छ । पार्टी, कालिञ्चोकबासी तमाम जनता र त्यहाँका सस्पूर्ण समुदायको साथ सहयोग र सद्भावका कारण मेलै गाउँपालिका अध्यक्ष हुने अबसर प्राप्त गरेको थिएँ । हाम्रो समुदायको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक उत्थान नेकपा एमालेले गर्दै आएको र आगामी दिनहरुमा पनि गर्नेछ ।
त्यसैले ममाथि तत्कालिन समयमा भएको दुव्र्यबहार र आक्रमणको घट्नालाई भोट बटुल्ने विषय नबनाउन र त्यसको भ्रममा नपर्न सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु । मेरो नाम भजाएर भोटको राजनीति गर्नुभन्दा उत्पीडित, पिछडिएको समुदायहरुको हकहित र अधिकारका लागि काम गरेर देखाउन सम्बन्धित पक्षलाई चुनौती दिन चाहन्छु ।
जातीय, क्षेत्रिय सद्भाव, सहिष्णुता, आपसी मेलमिलाप र एकताबद्ध समाजमा यस्ताखाले आधारहिन र भ्रमपुर्ण प्रचारले द्धन्द्ध र बिग्रह सिर्जना गर्नसक्छ । कुनै राजनीतिक एजेण्डा नभएपछि भ्रमको साहरा लिनु लज्जाको विषय हो । यस्ताखाले भ्रमका खेती गर्ने तत्वहरुबाट आम जनता सचेत हुन र भ्रमको पछाडी नलाग्न हार्दिक अपिल गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमाले र एमालेका सम्पूर्ण उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गरी बिजय गराउनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।
विनकुमार थामी
वाग्मती प्रदेश कमिटी सदस्य
नेकपा एमाले