Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखा प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा फेरी ‘पाहुना’ उम्मेदवार

चरिकोट – मंसिर ४ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिनसम्म दोलखा प्रदेशसभा २ नम्बर निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरुले भुगोलकै उम्मेदवार उठाउने निश्चित जस्तै थियो । यसअघिका निर्वाचनमा अन्यत्रबाट उम्मेदवार ल्याईएको भन्दै मतदातामा असन्तुष्टि बढेपछि जिल्लामा मुख्य प्रतिस्पर्धी रहेका नेकपा एमाले र गठबन्धनले यो पटक भुगोलकै उम्मेदवार उठाउने तयारी गरेका थिए ।

विगतमा पाहुना उम्मेदवार उठाएको भन्दै बढि आलोचना खपेको एमालेले समेत भुगोलकै नेतालाई उम्मेदवारलाई टिकट दिने निर्णय गर्यो । भीमेश्वर नगरपालिका वडा नम्बर ६ का भरत बहादुर केसीले प्रदेश निर्वाचन क्षेत्र (ख) मा उम्मेदवारी दर्ता गराए । गठबन्धनबाट पनि कांग्रेस केन्द्रीय सदस्य रहेका भीमेश्वर नगरपालिका–१, का अजयबाबु शिवाकोटीलाई पार्टीले टिकट दिने पक्कापक्की भएको समाचार बाहिरियो ।

अघिल्लो निर्वाचनमा बाम गठबन्धनसँग चुनाव लडेका नेता केशवराज चौंलागाई लगायतका नेताहरु पनि चुनावी दौडमा थिए । मनोनयन दर्ता गर्ने दिन आईतवार विहानसम्म शिवाकोटीको फोटो राखेर सामाजिक संजालमा बधाई शुभकामना आईरहेको थियो । 

तर अन्तिम समयमा एकाएक टिकट खोसिएको समाचार आएपछि उनका शुभेच्छुकहरु निराश भए । शिवाकोटीलाई दिने निर्णय भैसकेको टिकट अर्कै क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला सभापति बर्मा लामाले ल्याएपछि कांग्रेस पंक्तिमा खैलाबैला मच्चियो । कतिपयले सामाजिक संजालमा असन्तुष्टि नै व्यक्त गरे । लामा जिल्लाको प्रदेशसभा (ख) निर्वाचन क्षेत्र, मेलुङ गाउँपालिका वडा नम्बर ६ निवासी हुन् । 

यसअघि एमालेले पाहुना उम्मेदवार बनाएको विषयलाई चुनावी नारा बनाउने कांग्रेसले नै पाहुना उम्मेदवार उठाएको भन्दै कार्यकर्ता पंक्तिमा असन्तुष्टि चुलिएको छ । अन्तिम समयमा टिकट खोसिएको र भुगोल बाहिरका नेतालाई टिकट दिईएको विषयलाई लिएर शिवाकोटी पक्षले आपत्ती जनाएको छ । नाम उल्लेख गर्न नचाहने कांग्रेसका एक जिल्ला स्तरिय नेताले भुगोल बाहिरका व्यक्तिलाई टिकट दिने निर्णयले निर्वाचनमा क्षति ब्यहोर्नुपर्ने बताए ।

‘विगतमा अरु पार्टीले त्यसरी उम्मेदवार उठाउँदा पाहुना उम्मेदवारको नारा लगाउने, अनि अहिले आफै त्यसो गर्दा सन्देश राम्रो गएको छैन, यस्तो निर्णयले निर्वाचनको नतिजामा फरक पर्नसक्छ, उनले भने ।’ 

मतदाता तहमा निर्वाचन क्षेत्र बाहिरका उम्मेदवारलाई मत नदिने मनोविज्ञान छ । अघिल्लो निर्वाचनहरुमा सँधै अर्को निर्वाचन क्षेत्रका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै चर्को आलोचना खेपेको एमालेले भने यो पटक भीमेश्वर नगरपालिका घर भएका केसीलाई टिकट दिएको हो । उनी भीमेश्वर नगरपालिकाका पुर्व मेयर हुन् । 
 

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update