चरिकोट – दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरबाट दुई वर्षअघि हराएको मुर्ति अझै फेला पर्न सकेको छैन । भीमेश्वर नगरपालिका वडा नम्बर २ स्थित मन्दिरको मुलगेटमा रहेको मुर्ति २०७८ साल कात्तिक २४ गते राती चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय दोलखाले हराएको मुर्ति खोजी कार्य जारी रहनेपनि हालसम्म मुर्ती र मुर्ति चोरी गर्ने व्यक्ति फेला पार्न नसकिएको जनाएको छ ।
मन्दिरको दायाँबायाँ तर्फ रहेको खोपामा ढुंगामा कुँदेर बनाईएको मुर्ति हराएको हो । उक्त मुर्तिको लम्बाई २ फिट २ ईन्च र चौडाई ९ ईन्च रहेको छ । मन्दिर परिसरमा रहेको सिसिटिभी फुटेजमा देखिएको हुलियाका आधारमा अनुसन्धान जारी रहेपनि चोरी गर्ने व्यक्तिको पहिचान एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।
उनका अनुसार चोरी गर्ने व्यक्तिको हुलिया भने प्रहरी युनिटहरुमा परिपत्र गरिएको छ । पुरातात्विक महत्वको उक्त मुर्ति राती ११ बजेर १८ मिनेटको समयमा चोरी भएको थियो ।
जिल्लाको जिरी नगरपालिका स्थित एक गुम्वाको मुर्ति लगायतका बहुमुल्य सामान भने प्रहरीले फेला पारेको छ । चोरी घट्नामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जना प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत बुझाएको थियो । अदालतले एक जनालाई पुर्पक्षका लागि थुनामा र अर्का एक जनालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाडिएको छ ।
यसैगरी प्रहरीले सदरमुकाम चरिकोटकै एक होटलबाट दुई थान मुर्तिसहित एक जनालाई पक्राउ गरी हाजिर जमानीमा छाडेको छ । यस्तै स्वर्ण लिपी जस्तो देखिने ४९ जना पुरातात्विक महत्वको बस्तु चोरी निकासी गरेको अभियोगमा तीन जना व्यक्तिलाई पक्राउ गरेको थियो । उनीहरुलाई अदालतले धरौटी दाखिला गराई तारेखमा छाडिएको प्रहरीले जनाएको छ ।