Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखा प्रदेश निर्वाचन क्षेत्र (ख) मा यो पटक एमालेले भुगोलकै उम्मेदवार उठाउँदै

चरिकोट – नेकपा एमालेले दोलखा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा भुगोलकै उम्मेवार उठाउने भएको छ । यसअघिका निर्वाचनहरुमा गैरभूगोलका नेताहरुलाई उम्मेदवार बनाएको भन्दै आलोचना हुने गरेको थियो । आगामी मंसिर ४ गते हुने निर्वाचनमा जिल्लाको प्रदेश निर्वाचन क्षेत्रतर्फ (ख) मा एमालेबाट भूगोलकै नेता उम्मेदवार बन्ने निश्चित जस्तै छ ।

एमाले जिल्ला कमिटि बैठकले भूगोलका नेताहरुलाई प्रत्यक्ष उम्मेवार बनाउन प्रदेश र केन्द्रमा सिफारिस गरे अनुसार केन्द्रले केही दिनमा भूगोलका नेतालाई टिकट दिँदैछ । जिल्लाले नेताहरु लालकुमार केसी, वालकृष्ण शिवाकोटी, भरत केसी, डबल पाण्डे र कैलाश श्रेष्ठको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको थियो । उनीहरु सबै प्रदेश निर्वाचन क्षेत्र (ख)  घर भएका नेता हुन् ।  

जिल्ला स्थित प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा एमालेले बहुदल यताका प्राय सबै निर्वाचन जित्दै आएको छ । ती चुनावमा अर्कै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेताहरु उम्मेदवार बनेका थिए । मंसिरमा हुने निर्वाचनमा भूगोलकै नेता उम्मेदवार हुँदा एमालेलाई चुनाव जित्ने आधार थप बलियो हुने विश्लेषण हुन थालेको छ । आफ्नै क्षेत्रका नेता उम्मेदवार बन्ने भएपछि पार्टी कार्यकर्ता र जनस्तरमा समेत सकारात्मक माहोल बन्ने आँकलन नेताहरुले गरेका छन् ।   

यो निर्वाचन क्षेत्रमा जिल्लाको भीमेश्वर नगरपालिकासहित कालिञ्चोक, विगु र शैलुङ गाउँपालिका गरी ४ ओटा स्थानीय तह छन् । यो निर्वाचन क्षेत्र तिव्वती नाका लामावगर गाउँ देखी सुन्दर पर्यटकीय क्षेत्र शैलुङ र रामेछाप, सिन्धुपाल्चोक र काभ्रेसंग सीमा जोडिएको छ । 

यो निर्वाचन क्षेत्रमा २०४८ सालको चुनावमा एमालेले विगु गाउँपालिका ४, लादुकका  जितविर लामालाई उठाउँदा कांग्रेसका तत्कालिन उम्मेदवार कृष्ण थापालाई ठूलो मतान्तरले पराजित गरेका थिए । त्यसपछि भने एमालेले अर्को निर्वाचन क्षेत्रको नेता ल्याएर उम्मेदवार बनाउँदा आलोचना हुने गरेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update