माटो ! खै तिम्रो असल छोरा ?
सुर्यको गृष्मकालिन प्रचण्ड रवि चम्किरहेछ।
रातको अध्यारो पनि छैन
ओजोन झन पात लिएर
ज्योतिपुञ्ज सिधै माटोको स्पर्शमा तल्लिन छ,
तर यस्तो उज्यालो पलमा पनि
दिनमा नै दिप वालेर खोजिरहेछु।
माटो ! खै तिम्रो असल छोरा ?
उता देश रोइरहेछ ।
तिम्रो आफ्नो अस्मिता खतरामा छ
राष्ट्र अनि राष्ट्रियता
सुस्ता अनि महेशपुर दुखिरहेछ ।
कहिले दक्षिणि वायुले सताउछ
कहिले सात समुन्द्र पारीको विषालु वायुले सताउछ ।
देशका सन्ततिहरु
रोग, भोग नाना छाना र आवासको अभावमा
रैति झै वनिरहेका छन् ।
देशका असह्य वेदनाहरु
महंगीको रापले सेकिएका तनहरु
चित्कार साथ सोधिरहेछन् ।
माटो ! खै तिम्रो असल छोरा ?
तिम्रो छोराको कस्तो प्रिय कुर्सी
सँधै वसिरहन मन लाग्ने
सयलको आलिसान महलभित्रको कुर्सी
कस्तो प्रिय वस्तु
जहाँ एक पटकको वसाइले
अतितका सारा वाचाहरु भुलाइ दिने
कसम त हावादारी
वोली त फगत बोली मात्रै
कस्तो अचम्मको रहस्य
सारा साफ गर्छु भन्नेहरु पनि धुमिल वन्ने
कुर्सीको युद्ध मैदानमा विजय बन्न अग्रसर वनिरहने
माटो ! खै तिम्रो असल छोरा ?
तिमीलाई दुख्दा तिम्रो छोरालाई दुख्नु पर्ने
तिम्रो तनमा प्रताडना हुँदा
तिम्रो छोराको मन रुनुपर्ने
कस्तो छोरा जन्मायौ तिमीले
आमाको चित्कारमाथि
हाँसोको फोहोरा बर्षाउने
माटोको वेदना भन्दा
सत्ताको सिनोमा झुन्डिरहने
माटो ! खै तिम्रो असल छोरा ?
अतः पवित्र संभोगबाट
जनप्रेमी , देशप्रेमी मनहरुको
वर्षा गराउनै पर्छ ।
माटो ! असल छोरा जन्माउनै पर्छ ।
समाप्त