काठमाण्डौं - दशैं, तिहार, छठ लगायतका चाडपर्वहरुको अवसरमा दोलखाका राजनीतिक दल तथा सांसदहरु चियापान तथा सुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रीत भएका छन् । चाडवाडले छोपेसँगै नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका राजनीतिक दलहरु चियापान र शुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त भएका हुन् ।
बडादशैंको पहिलो घटस्थापनाको दिन आज नेकपा एमालेको दोलखा–काठमाण्डौं सम्पर्क मञ्च, नेपाली कांग्रेस र माओवादी केन्द्रले राजधानी काठमाण्डौंमा छुट्टाछुटै चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् । ती कार्यक्रमहरुमा तीन वटै राजनीतिक दलका नेता, पुर्वमन्त्री एवं सांसदहरु सहभागि भएका थिए ।
कार्यक्रममा पूर्वमन्त्री एवं एमाले पोलिट व्युरो सदस्य पार्वत गुरुङ, आनन्द प्रसाद पोखरेल, सरस्वती बस्नेत, रचना खड्का, माओवादी केन्द्रका नेता गंगा कार्की विश्व, माओवादी केन्द्रका नेता एवं वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयवावु शिवाकोटी, जिल्ला सभापति बर्मा लामा, पुर्व सभापतिहरु ताराबहादुर कोईराला, रुद्रबहादुर खड्का लगायतका नेताहरु सहभागि थिए ।
कार्यक्रममा सहभागि दलका नेता कार्यकर्ताहरुले शुभकामना आदानप्रदानसँगै सांगितिक प्रस्तुतीमा रमाईलो गरेका थिए । नेकपा एमालेले यही असोज १२ गतेपनि सदरमुकाम चरिकोट स्थित पार्टी कार्यलयमा चियापान तथा शुभकामना आदानप्रदान गर्ने जनाएको छ ।