चरिकोट — सिन्धुपाल्चोकमा कार दुर्घट्नामा परी गम्भिर घाईते भएका दोलखा भीमेश्वर नगरपालिका २ का एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका वडा नम्बर २ का २२ वर्षिय राजेश तामाङ रहेका छन् । धुलिखेल अस्पतालबाट रिफर गरी काठमाण्डौंको केएमसी अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा उनको आज मृत्यु भएको हो ।
काठमाण्डौंबाट चौतारातर्फ आउँदै गरेको बा ४ च ५६७७ नम्बरको सुजुकी कार आज विहान दुर्घट्ना भएको थियो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ पोखरेस्थित चौतारा बन्देउ सडकखण्डमा भएको दुर्घट्नामा उनी गम्भिर घाईते भएका थिए ।
सिन्धुपाल्चोक प्रहरीका अनुसार दुर्घट्नामा परी घाईते भएका दोलखा भीमेश्वर नगरपालिका २ का २८ वर्षिय सोनाम तामाङ, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नम्बर २ का ४२ वर्षिय बसन्त गिरी र ३१ वर्षिया प्रतिमा गिरीको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । उपचारका क्रममा रहेका सोनामको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।